आईटी कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा दर्तापछि निजी  क्षेत्रको आपत्ति

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुचना प्रविधि (आईटी) क्षेत्रको कम्पनी कोटिभिटीविरुद्ध फौजदारी मुद्दा दर्ता गरेपछि निजी क्षेत्रले त्यसको विरोध गरेको छ । 

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनिज् (नास‐आईटी), नेपाल उद्योग परिसंघ र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । 

Advertisement

राजश्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । हालसम्म गर्दै आएको कर व्यवहारको बर्खिलाप हुनेगरी कानुनको अपव्याख्या हुनेगरी आईटी उद्योगलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न दुखद् भएको भन्दै उनीहरुले भनेका छन्, ‘त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतिको कारबाही लागु गराउनु दुर्भाग्यपूर्ण छ ।’

सरकारको यस कदमले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने भन्दै निजी क्षेत्रले प्रचलित कर कानुन र व्यवहार भन्दा फरक गतिविधिले आफूहरुलाई चिन्तित बनाएको बताएका छन् । विज्ञप्तिमा थप भनिएको छ, ‘यस्तो व्यवहारले नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्च्याई प्रविधि हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिस्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भीर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत हार्दिक अनुरोध गर्दछौं ।’

विभागले प्रविधि कम्पनी कोटिभिटीविरुद्ध भ्याट तथा पुँजीगत लाभकर छली गरेको आरोप लगाउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । अहिले राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत छ । सन् २००४ मा स्थापना भएको कोटिभिटि नेपाल प्रा.लि. सफ्टवयर विकास गरी बिक्री गर्ने स्थापित कम्पनी हो । उक्त कम्पनीले राम्रो प्रगति गरेपछि नेपालकै एफवान सफ्टसहित कतिपय विदेशी कम्पनीहरुले आफूहरुलाई चुनौति ठान्दै आएका थिए । 

Advertisement

Advertisement