सुनमा विचित्र ढंगले लगानी, १० दिनमै स्टकको ११८ केजी बिक्री, थप २०० केजी आयात हुँदै

Advertisement

काठमाडौं । पछिल्लो १० दिनमा बैंकहरुमा भएको स्टकको ११८ केजी सुन सक्किएको छ । चैत १७ गते सम्म बिभिन्न बाणिज्य बैंकमा ११८ केजी सुन स्टक थियो । तर, चैत २८ गतेसम्म आउँदा त्यो सुन सक्किएको हो । 

अहिले नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८०० रुपियाँ छ, जुन हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य दैनिकरुपमा बढ्दै आएको छ । फलस्वरुप सुनको गरगहना बनाएर बिक्री गर्ने व्यवसायमा कमी आएको छ । 

Advertisement

तर, पछिल्लो १० दिनमा बैंकमा भएको सुन सक्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य जानकारी दिए । उनले भने,
‘अहिले बैंकमा भएको स्टकको सुन सक्किएको जानकारी पाएका छौं । स्टकको सुन सकिएपछि बैंकहरुले थप सुन आयात गर्ने प्रक्रिया अघि बढाएका छन् । अबको केही दिनमा २०० केजी सुन नेपाल भित्रिन्छ ।’

नेपालमा सुन आयात गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै छ । उनीहरुले दैनिक २० केजीको कोटामा सुन आयात गर्न पाउँछन् ।  व्यवसायीहरुले आफ्नो आवश्यकता अनुसार बैंकहरुलाई सुन आयात गर्न आग्रह गर्छन् । सोहीअनुसार बैंकहरुले आफ्नो पालोमा सुन आयात गर्छन् र व्यवसायीहरुलाई बिक्री गर्छन् । 

यसपाली ४ बाणिज्य बैंकले ५०–५० केजीको दरमा २०० केजी सुन आयात गर्दैछन् । त्यसमा १०० केजी काठमाडौं उपत्यका भित्र र १०० केजी काठमाडौं उपत्यका बाहिर पठाउने तयारी गरिएको छ । 

नेपाल बैंकर्स संघले पनि गत शुक्रबारसँग बैंकहरुमा २१ केजी मात्रै सुन बाँकी भएको जानकारी दिएको छ । ‘हामीले साप्ताहिकरुपमा यस्तो तथ्यांक संकलन गर्छौ । शुक्रबारसम्म बैंकहरुमा २१ केजी सुन थियो । त्यस यताको तथ्यांक छैन,’ उनले भने, ‘तर, शुक्रबार यता सुन सक्किएको हुनसक्छ । त्यसको यो हप्ताको तथ्यांक आउन बाँकी छ । सुन सक्किएपछि बैंकहरुले थप आयात गर्ने प्रक्रिया अघि बढाउछन् ।’ 
 
मूल्य बढ्दा पनि किन बढ्यो बिक्री ?
मूल्य बढेका कारण कारोबारमा कमी आउँदा पनि सुनको बिक्री बढेको पुष्टी यो तथ्यांकले गरेको छ । बिशेषगरि, सुनतर्फ लगानीको आर्कषण बढ्दा यसको बिक्री बढेको हुनसक्ने व्यवसायीहरु बताउँछन् । 

मूल्य बढ्दा अहिले सुनका गरगहना बनाउने उपभोक्ता कम छन् । अनिवार्य बाहेकको अवस्थामा सुनका गरगहना बनाउने उपभोक्ताको संख्या न्यून छ । तर, नाफा कमाउने उद्देश्यले सुनमा लगानी भने बढेको हुनसक्ने व्यवसायीहरुले अनुमान गरेका छन् । व्यवसायीहरु आफैले सुन किनेर होल्ड गरेको हुनसक्ने बताइएको छ । 

एक व्यवसायीले भने, ‘अहिले सुनको मुल्य दैनिक रुपमा बढ्दो क्रममा छ । साथै, आगामी दिनमा पनि सुनको मुल्य बढ्ने आकलन गरिएको छ । अन्तरराष्ट्रिय बजारको प्रवृति हेर्दा पनि सुनको मूल्य थप बढ्ने देखिन्छ । त्यो अवस्थामा अहिले किनेर होल्ड गर्ने र मुल्य बढेपछि बिक्री गरि नाफा कमाउने उद्देश्य सहितपनि सुनमा लगानी बढेको हुन सक्छ । त्यसले गर्दा पनि यसको बिक्री बढेको जस्तो लाग्छ ।’

अन्तरराष्ट्रिय बजारमा सुनलाई लगानीयोग्य बस्तुको रुपमा लिइन्छ । ठूला ठूला देश तथा लगानीकर्ताले नियमितरुपमा सुनमा लगानी गर्दै आएका हुन्छन् । आर्थिक संकटको बेलामा झन लगानी बढाउने गर्छन् । त्यसबेला विश्वका ठूला ठूला देश र लगानीकर्ताले धेरै मात्रामा सुन किनेर होल्ड गर्छन् । तर, नेपालमा सुनलाई व्यापारिक तथा लगानीयोग्य बस्तुको रुपमा मान्यता दिइएको छैन् । 

यद्यपि, समय समयमा सुनमा लगानी गर्ने प्रवृति देखिने गरेको व्यवसायीहरु बताउछन् । 
यस्तै, विवाहको मौसम नजिकिँदा पनि केही मात्रामा सुनको खपत बढेको हुनसक्ने व्यवसायीहरु बताउँछन् । नेपालमा बैशाख र मंसिरमा बढी मात्रामा बिहे हुने गर्छ । यसपाली बैशाखमा विवाह गर्ने साइत ७ गतेसम्म मात्रै छ । त्यसले गर्दा अहिले विवाह लक्षित सुनका गरगहनाको माग बढिसकेको व्यवसायीहरु बताउछन् । 

तर, त्यसमा आफ्नै पूराना गहना पनि ल्याएर आउने गरेका छन् । नयाँ सुन किनेर गहना बनाउने ग्राहक कम नै रहेको उनीहरु बताउँछन् । हिन्दू संस्कारको बिहेमा दुलाहा–दुलहीले एक अर्कालाई सुनका गरगहना उपहार दिने प्रचलन छ । स्वयमबरको औंठी त अनिवार्य रुपमै चाहिन्छ । योबाहेक आफन्तहरुले पनि सुनको गहना उपहार दिने प्रचलन छ । त्यसकारण विवाहको सिजनको बेला सुनका गरगहना बनाउने व्यवसाय पनि बढ्छ । 

यसपाली मूल्य बढे पनि विवाहको सिजनका कारण कारोबार बढेको व्यवसाही बताउँछन् । तर, पहिलाको बिहेको सिजनको तुलनामा कम कारोबार भएको उनीहरु बताउँछन् ।

सुन बिक्रीले बैंकहरु अचम्मित 
बैंकर्स संघको तथ्यांकअनुसार गत हप्ता मात्रै ९७ केजी सुन व्यवसायीहरुले खरिद गरेका थिए । बिगतमा मूल्य बढ्दा बैंकहरुबाट सुनको बिक्री ठप्पै हुन्थ्यो । त्यो अवस्थामा बैंकमा ५०० केजी भन्दा पनि बढी सुन स्टकमा बस्थ्यो । मूल्य बढेको बेला विवाहकै सिजन भए पनि सुनको बिक्री न्यून हुने गर्दथ्यो । 

तर, यसपाली सुन बिक्री भएको देख्दा आफूहरु अचम्म भएका एक बैंकरले बताए । उनले भने, ‘पहिला मूल्य बढ्दा सुनको बिक्री ठप्पै हुन्थ्यो । तर, अहिले हप्तादिनमै झण्डै १०० केजी सुन बिक्री भयो । स्टक सकिएर नयाँ सुन आयात गर्नुपर्ने बाध्यता आयो । मूल्य उच्च विन्दुमा पुगेको अवस्थामा समेत सुन बिक्री भएको देख्दा अचम्मित भएका छौं ।’

Advertisement

Advertisement