बीमा कम्पनीहरूलाई पारदर्शी किसिमले अगाडि बढ्न निर्देशन, नयाँ वेभसाइट शुभारम्भ

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वासनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नु पर्ने बताएका छन् । 

नेपाल बीमा प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुक्रबार आयोजित ‘नववर्ष २०८१ सालको शुभकामना आदान–प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले प्रत्येक बीमा कम्पनीले गन्तव्य तय गरी सोही अनुसार नीति, रणनीति र कार्यक्रम बनाई गन्तव्यमा पुग्नेगरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । 

Advertisement

अध्यक्ष सिलवालले भने, “समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ, विगतका उपलब्धीको दिगोपनामा जोड दिनुपर्छ, सहकार्यलाई बढी प्रभावकारी बनाउनुपर्छ, सेवाको लागत घटाउन र दक्षता अवभिवृद्धि गर्न व्यापकरूपमा नविनतम् प्रविधि अवलम्बन गर्नुपर्छ, कमी कमजोरीलाई दोहोरिन दिनु हुँदैन ।”

अध्यक्ष सिलवालले बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्नुहुन्दै बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै छिटोछरितो रूपमा बीमा दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहबाट नागरिकको विश्वास जित्न सकिने र बीमाको दायरा पनि फराकिलो हुँदै जाने बताए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी, नेपाल बीमक सङ्घ र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष, विभिन्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले संचालन गर्नुभएको कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा क्रम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

नयाँ वेभसाइटको शुभारम्भ
यसैबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरे । 

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्नुहँुदै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताए । 

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने जानकारी दिंदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताउँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेभसाइटलाई परिमार्जन गर्दै लगिने बताए । 

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए । 

प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा प्राधिकरणका कर्मचारीहरू र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।

Advertisement