काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
विभागले उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरी चल्नेछ ।
त्यसैगरी राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत छ ।
विभागले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।