वैदेशिक व्यापारमा संकुचन कायमैः २.८४ प्रतिशतले घट्यो आयात, निर्यातमा ३.६६ प्रतिशत गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने बस्तुको आयात २.८४ प्रतिशतले घटेको छ । भन्सार बिभागले सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा अवधीमा नेपालले ११ खर्ब ६७ अर्ब ३९ करोड रुपियाँको बस्तु आयात गरेको छ । गत आवको समिक्षा अवधीमा भने १२ खर्ब १ अर्ब ५० करोड रुपियाँको बस्तु आयात भएको थियो ।

Advertisement

नेपालमा कायमै रहेको आर्थिक शिथिलताका कारण आयात घटेको हो । आर्थिक शिथिलताका कारण नेपालमा बस्तुको माग घटेको छ । त्यसकारण आयात पनि खुम्चीएको व्यवसायीहरु बताँउछन् । 

यसैगरी नेपालमा विकास निर्माण सुस्ताउँदा पनि आयात खुम्चिएको हो । आयात र नेपालको विकास निर्माणबीच प्रत्यक्ष सम्बन्ध छ । बिकास निर्माण सम्बन्धी मेसिन लगायतका सामग्री आयात नै गर्नुपर्छ, जसलाई पुँजीगत आयात भनिन्छ । तर, पछिल्लो समय नेपालमा विकास निर्माणको गतिविधि घटेको छ । सरकारले भुक्तानी दिन नसक्दा निर्माणको काममा मन्दी आएको छ । यी यस्ता कारण पूँजीगत आयात बढ्न सकेको छैन । विकास निर्माणको गतिविसध बढाउन नसक्दा आयात समेत प्रभावित भएको निर्माण व्यवसायीहरु बताउँछन् । 

सामान्यत आयात बढ्नु राम्रो मानिदैन । किनकी, यसले आफ्नै देशमा भएको पैसा बाहिरिन्छ । तर, नेपालको विकास निर्माण कार्य आयातसँग जोडिएको छ । विकास निर्माणमा चाहिने अनिवार्य मेसिन तथा सामग्रीहरु नेपालमै पाइदैन । विदेशबाट आयात गर्नूपर्ने बाध्यता छ । साथै, सरकारको राजश्वमा पनि आयातबाट उठ्ने करको हिस्सा सबैभन्दा उच्च छ । त्यो अवस्थामा नेपालमा आयात घट्दा अर्थतन्त्र नै प्रभावित हुने गरेको पनि छ । 

आर्थिक शिथिलताका कारण गत आवदेखि नै बस्तु आयात प्रभावित भएको छ । तर, स्वदेशमै उत्पादन हुने बस्तुको आयात गर्नु भने दुःखद पक्ष नै भएको विज्ञहरु बताउँछन् ।

यस्तै, समीक्षा अवधीमा नेपालबाट हुने बस्तु निर्यात ३.३६ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधीमा १ खर्ब १८ अर्ब २७ करोड रुपियाँको बस्तु निर्यात भएको थियो । यसपाली त्यो एक खर्ब १३ अर्ब ९४ करोड रुपियाँमा सीमित भएको छ । बिशेष गरी भारतबाट नेपाली पाम तथा सोयाविन तेलको माग कम भएपछि  निर्यात प्रभावित भएको बताइन्छ । 

समीक्षा अवधीमा नेपालले वैदेशिक व्यापारमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपियाँ घाटा बेहोरेको देखिन्छ । यो घाटा रकम गत आवको सोही अवधीको तुलनामा २.७५ प्रतिशतले कम हो । गत आवको समीक्षा अवधीमा बैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपियाँ बराबरको थियो । 
 

Advertisement