वर्षमान अर्थमन्त्री भएपछि मात्रै २३ अर्बको बजेट घाटा, अनुदान प्राप्ति शून्य !

Advertisement

काठमाडौं । माओवादी नेता बर्षमान पुन अर्थमन्त्री बनेपछिको अवधीमामात्रै सरकारी बजेट २२ अर्ब ७० करोड १८ लाख रुपियाँले घाटामा गएको छ । 

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरीको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, यसमा सरकारले लिएको ऋणको तथ्यांक समावेश गरिएको छैन । 

Advertisement

पुनले गत फागुन २३ गते अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।  त्यसयता (फागुन २४ गतेदेखि बैशाख ९ गतेसम्म) सरकारको आम्दानी १ खर्ब ४२ अर्ब ७ करोड २५ लाख रुपियाँ छ । त्यसमा कर राजश्व १ खर्ब २३ अर्ब ११ करोड ९२ लाख रुपियाँ, गैर कर राजश्व १८ अर्ब ६४ करोड ६२ लाख रुपियाँ र अन्य आम्दानी ३० करोड ७१ लाख रुपियाँ देखिएको छ । पुन अर्थमन्त्री भएपछि अनुदान प्राप्ती भने शुन्य देखिएको छ । 

यही अवधीमा सरकारको खर्च भने एक खर्ब ६४ अर्ब ७७ करोड ४३ लाख रुपियाँ रहेको छ, जुन आम्दानी भन्दा २२ अर्ब ७० करोड १८ लाख रुपियाँ बढी हो । यो घाटालाई सरकारले ऋण मार्फत पूर्ती गरेको छ । 

पुन अर्थमन्त्री भएपछि ९५ अर्ब ५२ कोड १७ लाख रुपियाँ चालु खर्च भएको छ । पुँजीगत खर्च भने २४ अर्ब ८५ करोड ९८ लाख रुपियाँ मात्रै देखिएको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ भने ४४ अर्ब ३९ करोड २८ लाख रुपियाँ खर्च भएको छ । 

हालसम्म सरकारको कुल आम्दानी भने ७ खर्ब ८६ अर्ब २२ करोड ७३ लाख रुपियाँ रहेको छ । खर्च भने ९ खर्ब ३३ अर्ब १ करोड १३ लाख रुपियाँ भएको छ । त्यसअनुसार समीक्षा अवधीमा सरकारको आम्दानी भन्दा १ खर्ब ४६ अर्ब ७८ करोड रुपियाँ बढी खर्च भएको देखिन्छ । सरकारले हरेक बर्षनै घाटाको बजेट ल्याउँदै आएको छ । त्यो घाटालाई ऋणमार्फत पुर्ति गरिदैं आइएको छ । सरकारले चालु आवमा साढे ४ खर्ब हारहारीमा ऋण उठाउने लक्ष्य लिएको छ । 

हालसम्म सरकारले चालुतर्फ ६ खर्ब ६३ अर्ब १६ करोड रुपियाँ, पूँजीगत तर्फ १ खर्ब ३९ करोड रुपियाँ र वित्तिय व्यवस्था तर्फ १ खर्ब ६९ अर्ब ४५ करोड रुपियाँ खर्च गरेको छ ।

सरकारले चालु आवका १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट ल्याएको छ । त्यसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब रुपियाँ, पूँजीगततर्फ ३ खर्ब २ अर्ब रुपियाँ र वित्तिय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब रुपियाँ बजेट छुट्टाइएको छ । त्यसमा हालसम्म चालुतर्फ ५८.०८ प्रतिशत, पुँजीगत तर्फ ३३.२३ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ५५.१२ प्रतिशत खर्च भएको छ । समग्र बजेट खर्च भने ५३.२७ प्रतिशत भएको छ । 
 

Advertisement