लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार

Advertisement

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतीका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो । 

यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदै छ । निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको सो प्रस्ताव बोर्ड बैठकमा पेस गरिएको बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

Advertisement

उनका अनुसार त्यसमा छुटेका केही परियोजनाहरू थप गर्न पनि प्रधानमन्त्री प्रचण्डले बोर्डलाई निर्देशन दिएका थिए । त्यसैगरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । बिनास्वीकृति थप लगानी भित्रिएकाले थपिएको अन्योलतालाई चिर्ने काम बोर्ड बैठकले गरेको पनि बोर्डका प्रवक्ता उपाध्यायले बताए । 

ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेष्टमेन्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

Advertisement