हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

Advertisement

काठमाडौं । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । 

एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ । 

Advertisement

पहिलो दिन बुधबार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली सुरु हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । 

र्यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारीसाधन सहभागी हुनेछन् । स्काई टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । 

ऊर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्या के–के छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने र १३ गते बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको बताए । 

उनले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताए । अध्यक्ष कार्कीले जलविद्युत् र ऊर्जासँग सम्बन्धित सामान प्रदर्शनी गर्ने र बेच्नेबाहेकका कुरा विगतमा नहुने गरेको भए पनि यसपटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए । 

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने उनको भनाइ छ । 

अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए । उनले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए । देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको बताए ।

उनले नेपालमा लगानी गर्न इच्छुक हुनेहरूका लागि सबैभन्दा राम्रो ठाउँ ऊर्जा क्षेत्र भएको दाबी गरे । 

Advertisement