के छ नेपाल भ्रमणमा आएका कतारी राजाको आजको ‘सेड्युल’ ?

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं उत्रिए । उनलाई स्वागत गर्न राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विशिष्ट व्यक्तिहरू विमानस्थल पुगे । 

विमानस्थलबाटै सीधै शीतल निवास पुगेका अमिर र राष्ट्रपति पौडेलबीच भेटवार्ता भयो । भेटवार्तामा राष्ट्रपति पौडेलले हमास युद्धमा बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरे । 

Advertisement

साथै, अमिरको स्वागतमा राष्ट्रपति पौडेले रात्रिभोजको आयोजना गरे । रात्रिभोजमा रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो । प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति पनि रात्रिभोजमा सरिक थिए । 

आज बुधबार भने कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता हुँदै छ । भेटवार्तापछि विभिन्न द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

आज कतारसँग ६ वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदानसम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ ।

यता नेपालले कतारलाई ‘रुद्रकली’ र ‘खगेन्द्र’ नाम गरिएका हात्ती उपहार दिने चर्चा छ । तर, प्रधानमन्त्रीले उपहार दिने घोषणा गरेपनि अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती उपहार दिने सम्झौता नै भने नहुने बुझिएको छ । 

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । 

त्यसपछि अमिरसहतिको टोली आजै दिउँसो कतार फर्किने कार्यक्रम छ ।

Advertisement