उपनिर्वाचन : इलाम र बझाङमा मौन अवधि सुरु, यी काम गर्न पाइँदैन

Advertisement

काठमाडौं । वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा मौन अवधि सुरु भएसँगै आजदेखि प्रचारप्रसार निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुने भएकाले बुधबार (हिजो) राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागू गरिएको आयोगको भनाइ छ ।

मौन अवधिमा यी काम गर्न पाइँदैन

मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न निषेध गरिएको हुन्छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । 

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरूलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।

यदि आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement