हिमाली जिल्लामा जेठ १० गतेदेखि यार्सा संकलन खुला, अनुमतिपत्र लिन ३ हजारसम्म तिर्नु पर्ने

Advertisement

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन  गर्न खुला गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए । 

Advertisement

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ ।  प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ ।  मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ । 

निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताउनुभयो । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उहाँको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।

समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताउनुभयो । डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो । विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ । अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलकबाट बर्सेनि लाखौं राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन । 

निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए । “जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ ।

उनीहरुको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन् । अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उनले भने । स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उहाँको भनाइ छ । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ । रासस

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
यता, विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो । 
    
यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट सङ्कलन सुरु भएको जानकारी दिए । उनका अनुसार मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय बमोजिम सङ्कलकलाई अनुमति दिइएको उनले बताए । 

Advertisement