घरजग्गा किन्दा बैंकबाट अब यसरी पाउन सकिन्छ पहिला भन्दा बढी ऋण

Advertisement

काठमाडौं ।  अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा  खरिद प्रयोजनको कर्जाको ‘ऋण भुक्तानी आम्दानी अनुपात’ ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याउने घोषणा गरेको छ । यो कार्यान्वयनमा आएमा ऋणहरुले  पाउने ऋणको आकार बढ्ने सम्भावना छ । 

Advertisement

मुख्यतः कर्जा प्रवाहमा सहयोग पुग्ने गरी यस्तो नीति कार्यान्वयनमा ल्याउन लागेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । ऋणीको कर चुक्ता प्रमाणको आधारमा यस्तो सुविधा दिइने उनको भनाइ छ ।
 
यो नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले एकीकृत निर्देशक संसोधन गर्नुपर्छ । अब छिट्टै एकीकृत निर्देशन संसोधन गरेर यसलाई कार्यान्वयनमा प्रवेश गराइने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठको भनाइ छ । 

कसरी पाउन सकिन्छ पहिला बढी ऋण ? 
बैंकहरुले निश्चित अवधि राखेर ऋणीलाई कर्जा प्रवाह गर्छन् । त्यो अवधिमा ऋणीले मासिक रुपमा किस्ता तिर्नुपर्छ । यो नीति घर जग्गा सम्बन्धी कर्जामा पनि लागू हुन्छ । घर जग्गा खरिद गर्दा पनि ऋणीले मासिक रुपमा किस्ता तिर्ने गरि ऋण लिन्छन् । यसरी मासिक रुपमा तिरिने किस्ता निर्धारण गर्न ऋणीको मासिक आम्दानीलाई मुख्य आधार बनाइन्छ । 

हाल ऋणीले मासिक आम्दानीको ५० प्रतिशत अनुपात बराबरको मासिक किस्ता तिर्ने गरि यस्तो कर्जा प्रवाह गरिन्छ । अब भने ऋणीको मासिक आम्दानीको ७० प्रतिशत अनुपातसम्ममा मासिक किस्ता निर्धारण गरेर कर्जा प्रवाह गर्न पाइने नीति ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । यो नीति कार्यान्वयनमा आएमा आम्दानी नबढ्दा पनि स्वतः बढी कर्जा पाउने सम्भावना बढ्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।  किस्ता बढी तिर्ने भएपछि बैंकहरुले पनि स्वतः कर्जाको आकार बढाउने विज्ञहरु बताउँछन् । 

सम्बन्धित घर जग्गा नै धितो राख्ने हुँदा यसमा अन्य समस्या नआउने पनि उनीहरु बताउँछन् । बढी ऋण पाउने भएपछि घर जग्गा पनि बढी मूल्यकै किन्ने सम्भावना बढी हुन्छ । बैंकमा सोही घर जग्गा नै धितो राखिने हुदाँ धितो सम्बन्धी व्यवस्थाले कर्जाको आकार बढाउन असहयोग नहुने उनीहरुको भनाइ छ । 

‘यो नीतिका कारण अब घर जग्गा खरिद गर्ने ऋणीले बढी ऋण पाउने छन् । घर जग्गा भएका मान्छेको खर्च धेरै हुँदैन । घर जग्गा भाडामा लगाएर वा अन्य माध्यमबाट पनि उनीहरुले थप आम्दानी गर्न सक्छन् । त्यो अवस्थामा उनीहरुलाई आम्दानीको ७० प्रतिशतको अनुपातमा किस्ता तिर्न समस्या नहुन पनि सक्छ । तसर्थ, यस्तो नीति ल्याउन लागेको हो,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘यो नीतिका कारण अब ऋणीले मासिक रुपमा तिर्ने किस्ताको आकार थप ठुलो बनाउन सकिन्छ । त्यसले कुल कर्जाको आकार बढाउन सहयोग पुग्छ ।’ अहिले बैंकहरुमा अधिक तरलता भएको, घरजग्गा कारोबारमा पनि शिथिलता आएको कारण यस्तो नीति ल्याएको राष्ट्र बैंकका एक अर्को अधिकारीले बतााए । 

हाल कुनै व्यक्तिले मासिक एक लाख रुपियाँसम्म कमाउछ भने निजलाई मासिक ५० हजार रुपियाँ किस्ता तिर्न मिल्ने गरी कर्जाको आकार निर्धारण गरिन्छ । सोहीअनुसार ऋण प्रवाह पनि गरिन्छ । यो नीति आएमा मासिक सोही एक लाख कमाउने व्यक्तिले मासिक ७० हजार किस्ता निर्धारण हुने गरि ऋण पाउन सक्छन् । त्यसको असरले समग्र कर्जाको आकार समेत बढ्ने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए  ।

पहिला यस्तो कर्जा लिने क्षमता वा आकार बढाउन ऋणीको आम्दानी नै बढ्नुपर्ने थियो । तर, यो नीति कार्यान्वयनमा आएपछि तत्काललाई आम्दानी नबढेपनि कर्जा आकार बढाउने सम्भावना भएको उनको भनाइ छ । 

Advertisement

Advertisement