घरजग्गा कारोबारबाट सरकारले १० महिनामा उठायो रु. ३३ अर्ब कर, गत बर्षभन्दा गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा घरजग्गा कारोबारबाट सरकारले ३३ अर्ब ६ करोड १४ लाख रुपियाँ राजश्व उठाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार यो रकम गत बर्षको सोही अवधिको भन्दा कम हो ।  

गत आवको सोही अवधीमा यस्तो कारोबारबाट सरकारले ३३ अर्ब १२ करोड ६९ लाख रुपियाँ कर अशुलेको थियो । तथ्यांकअनुसार बैशाख महिनामा मात्रै घर जग्गा कारोबारबाट तीन अर्ब ८६ करोड ८१ लाख रुपियाँ राजश्व उठेको छ ।  

Advertisement

बिभागको तथ्यांकअनुसार चालु आवको साउन महिनामा २ अर्ब ९१ करोड रुपियाँ, भदौमा ३ अर्ब ४ करोड रुपियाँ, असोजमा चार अर्ब आठ करोड रुपियाँ, कात्तिकमा दुई अर्ब १६ करोड रुपियाँ र मंसिरमा दुई अर्ब ८६ करोड रुपियाँ राजश्व उठेको थियो । यसैगरि पुसमा तीन अर्ब २० करोड रुपियाँ, माघमा तीन अर्ब ३७ करोड रुपियाँ, फागुनमा तीन अर्ब ५९ करोड रुपियाँ र चैतमा तीन अर्ब ९४ करोड रुपियाँ राजश्व उठेको थियो ।  

घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ । 

कति भयो कारोबार ?
चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा देशभर चार लाख २९ हजार ९५५  वटा घरजग्गा कारोबार भएको देखिएको छ । यो गत आवको सोही अवधीको तुलनामा १८.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा देशभर ३ लाख ६३ हजार ७६८ वटा यस्तो कारोबार भएको थियो । लिखित पारितसम्बन्धी तथ्यांकको आधारमा यस्तो देखिएको हो । कारोबार संख्या बढ्दा पनि राजश्व संकलन भने घटेको तथ्यांकले देखाएको छ । थोरै रकममा कारोबार हुदाँ पनि यस्तो अवस्था आएको जानकारवालाहरु बताउँछन् । 

बैशाख महिनामा मात्रै देशभर ४९ हजार ७८२ पटक घरजग्गाको लिखित पारित भएको छ । तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६,  मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७५ वटा घरजग्गा कारोबार भएको थियो । यसैगरि माघमा ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ वटा यस्तो कारोबार भएको देखिन्छ । यसैगरि चैतमा ५० हजार २५२ र बैशाखमा ४९ हजार ७८२ पटक यस्तो कारोबार भएको छ ।

बिगतमा घरजग्गा कारोबार निकै सुस्ताएको थियो । गत आवमा घरजग्गा कारोबारको संख्या मासिक २५ हजारसम्म झरेको थियो । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलताले घरजग्गा कारोबार प्रभावित भएको थियो । तर, चालु आवमा गत आवको तुलनामा घरजग्गा कारोबार केही बढेको तथ्यांकले देखाएको छ । घरजग्गा कर्जा सम्बन्धी नयाँ प्रडक्ट तथा नीतिगत व्यवस्था, घट्दो व्याजदर लगायतका कारण पछिल्लो समय यस्तो कारोबार बढेको बताइन्छ । यद्यपि, यस्तो कारोबार सामान्य अवस्थामा भने अझै नपुगेको व्यवसायीहरु बताउछन् । 

२०७७ चैत महिनामा देशभर ८७ हजार १८७ वटा लिखित पारित भएको थियो । २०७८ चैतमा भने देशभर ७० हजार ८२९ वटा लिखित पारित भएको थियो । त्यो अनुसार घरजग्गा कारोबार अझै सामान्य अवस्थामा नआएको तथ्यांकले नै पुष्टी गर्छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलता, उच्च व्याजदर, महंगी, कित्ताकाटमा गरिएको कडाई लगायतका कारण २०७९ यता घरजग्गा कारोबार सुस्ताएको थियो ।   

Advertisement

Advertisement