बझाङको साईपालमा चालु आवमै शाखा खोल्न गभर्नरद्वारा एभरेष्ट बैंकलाई निर्देशन
बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने सन्दर्भमा गभर्नर महाप्रसाद अधिकारी, गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिको उपस्थितिमा शुक्रबार राष्ट्र बैंकमा आयोजित छलफल ।

Advertisement

काठमाडौं ।  हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेको बझाङको साईपाल गाउँपालिकामा चालु आर्थिक बर्ष २०८०–८१ भित्र एभरेष्ट बैंकको शाखा स्थापना गर्ने सहमति भएको छ । शुक्रबार राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी, पालिका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंकका प्रतिनिधिहरुबीच भएको छलफल पछि यस्तो सहमति भएको हो । 

पालिकाका अध्यक्ष मानविर बोहराले दुई महिना भित्र साइपालमा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने सहमति भएको जानकारी दिए । 

Advertisement

हाल देशभर क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाको ६ हजार ४६५ वटा शाखा कार्यालय छन् । लघुवित्त वित्तीय संस्थाहरुको जोड्दा त्यो भन्दा पनि बढी शाखा कार्यालय छन् । तर, ७५३ वटा पालिका मध्ये साईपालमा अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाले शाखा स्थापना गरेका छैनन् । त्यसले गर्दा त्यहाँका आम सर्वसाधारणहरुलाई बैंकिङ कारोबार गर्न निकै दुःख भइरहेको छ । 

कतै पैसा पठाउन वा लिन जिल्ला सदरमुकाम चैनपुर नै आउनुपर्ने बाध्यता रहेको छ । साईपाल गाउँपालिकाले समेत जिल्ला सदरमुकाम चैनपुरमै आफ्नो कार्यालय राखेको छ । 

केन्द्रीय बैंकले २०७४ सालमै सबै पालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नीति ल्याएको थियो । त्यसमा पालिका नै तोकेर वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न निर्देशन दिइएको थियो । त्यसमा साईपाल गाउँपालिका एभरेष्ट बैंकको भागमा परेको थियो । 

हालसम्म आउँदा एभरेष्ट सहित अन्य बैंकहरुले आफ्नो भागमा परेका पालिकाहरुमा शाखा स्थापना गरिसकेका छन् । तर, साईपाल गाउँपालिकामा अझै एभरेष्ट बैंकले शाखा स्थापना गर्न सकेको छैन । 

सडक, इन्टरनेट लगायतका अत्यावश्यक पूर्वाधारको अभाव हुँदा त्यहाँ शाखा स्थापना गर्न नसकेको बैंकका अधिकारीहरु बताउँछन् । तर, अब त्यहाँ कुनै पनि हालतमा बैंकको शाखा स्थापना गर्ने उनीहरुको भनाइ छ । 

केही हप्ता अघि मात्रै बैंकका अधिकारीहरु त्यहाँ गएर स्थलगत अध्ययन समेत गरिसकेका छन् । त्यसक्रममा बैंकका अधिकारीहरुले शाखा स्थापना गर्न सकिने निष्कर्ष पनि निकालेको अध्यक्ष बोहराले बताए । ‘पहिला बाहिरी मान्छेहरुले त्यहाँ छ महिनानै हिउँ पर्छ भनेर हल्ला गरेका रहेछन् । त्यसले गर्दा पनि बैंक त्यहाँ जान नमानेको जस्तो देखियो । तर, हालै बैंकका अधिकारीहरुले त्यहाँ गएर स्थलगत अध्ययन गर्नु भएको छ,’ उनले भने, ‘त्यस क्रममा त्यहाँ बैंकको शाखा स्थापना गर्न सकिने पनि देखिएको छ ।’
 

Advertisement

Advertisement