बैशाखमा ५४ खर्ब ४८ अर्बको डिजिटल कारोबार, कुनबाट कति ?

Advertisement

काठमाडौं । गएको बैशाखमा नेपालभर ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपियाँ बराबरको डिजिटल पेमेन्ट (विद्युतीय भुक्तानी) भएको छ । 

किनमेल तथा अन्य व्यवसायिक कारोबार गरेर बैशाखमा सो बराबरको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त बैशाख महिनाको विद्युतीय भुक्तानी सम्बन्धी तथ्यांकअनुसार यो कारोबार रकम गत आवको बैशाख महिनाको तुलनामा ४०.३४ प्रतिशतले बढी हो । 

Advertisement

गत आवको बैशाख महिनामा ३८ खर्ब ८२ अर्ब ३१ करोड ५० लाख रुपियाँको विद्युतीय भुक्तानी भएको थियो । सरकारको खर्च बृद्धि, आन्तरिक तथा विदेशी पर्यटकको आगामन लगायतका कारण डिजिटल भुक्तानी बढ्दै गएको छ ।

आर्थिक शिथिलताका कारण बिगतका महिनाहरुमा डिजिटल भुक्तानी खस्किएको थियो । तर, पछिल्लो समय त्यो बढ्दै गएको तथ्यांकले पुष्टी गरेको छ । अर्थतन्त्र मन्दीको अवस्थामा रहे पनि पछिल्लो समय विदेशी आगमन तथा आन्तरिक पर्यटकको घुमघाम बढेको छ । मानिसहरु किनमेलको लागि किराना पसलभन्दा पनि ठूला सपिङ स्टोर र अनलाइन सपिङको संस्कृति बढेर गएको छ । 
त्यसले सेवा क्षेत्रमा हुने डिजिटल कारोबार बढाएको छ । 

असार मसान्त नजिकिएसँगै सरकारको खर्च रकम पनि बढ्दै गएको छ । त्यसले पनि डिजिटल भुक्तानी बढाउन सहयोग पुगेको सरोकारवाला बताउँछन् । बैशाखमा आरटीजीएसबाट मात्रै ३५ खर्ब ७९ अर्ब ७८ करोड रुपियाँ भुक्तानी भएको छ । ठूला रकमका कारोबार आरटीजीएसमार्फत गर्ने गरिन्छ । 

सरकारको ठूल–ठूला रकमको भुक्तानी पनि आरटीजीए प्रणालीमार्फत नै गरिन्छ । धेरै डिजिटल भुक्तानी हुने मामिलामा आरटीजीएस पहिलो नम्बरमै छ । डिजिटल भुक्तानीको मामिलामा दोस्रो नम्बरमा कनेक्ट आईपीएस देखिएको छ । बैशाख महिनामा कनेक्ट आईपीएसबाट मात्रै पाँच खर्ब २२ अर्ब ७० करोड रुपियाँ भुक्तानी भएको छ । तेस्रो नम्बरमा भने इलोक्ट्रोनिक चेक क्लिरेन्यस रहेको छ । त्यहाँबाट चार खर्ब ९२ अर्ब ५१ करोड रुपियाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

मोवाइल बैंकिङबाट मात्रै तीन खर्ब २० करोड भुक्तानी 
रिटेल लगायतका सानो रकमको भुक्तानीमा मोवाइल बैकिङ धेरै प्रख्यात छ । हालसम्म मोवाइल बैंकिङको खाता संख्या दुई करोड ४० लाख ५३ हजारभन्दा माथि छ । अधिकांश ग्राहकसँग स्मार्ट फोन हुँदा मोवाइल बैंकिङ उच्च स्तरमा विस्तार भएको छ । 

त्यसबाट भने बैशाख महिनामा तीन खर्ब २० अर्ब १९ करोड रुपियाँ भुक्तानी भएको छ । धेरै डिजिटल भुक्तानी गर्ने मामिलामा मोवाइल बैंकिङ चौथो नम्बरमा छ । यसैगरि, समीक्षा अवधीमा आईपीएसबाट दुई खर्ब ३८ अर्ब ११ करोड रुपियाँ भुक्तानी भएको छ । यो बाहेक डेविट कार्डबाट ९७ अर्ब १२ करोड, एटीएम विथड्रबाट ९३ अर्ब ४० करोड, क्यूआरबाट ५२ अर्ब ७५ करोड, वालेटबाट २८ अर्ब ४३ करोड र इन्टरनेट बैंकिङबाट १२ अर्ब ७७ करोड रुपियाँ भुक्तानी भएको छ । 

यसैगरि, पोस मेसिनबाट पाँच अर्ब ५२ करोड, केडिट कार्डबाट एक अर्ब ८९ करोड, ब्रान्चलेस बैंकिङबाट एक अर्ब ८० करोड र प्रिपेप कार्डबाट ६५ करोड ६० लाख रुपियाँ भुक्तानी भएको छ । यसैगरि समिक्षा अवधीमा इ–कमर्शमा ७५ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ । 

दश महिनामा ४४९ खर्बको कारोबार
चालु आवको १० महिनामा भने नेपाल भर ४४९ खर्ब ६७ अर्ब ७५ करोड रुपियाँ बरारबको डिजिटल भुक्तानी भएको छ । गत आवको १० महिनामा ४२२ खर्ब २६ अर्ब ७७ करोड रुपियाँको यस्तो भुक्तानी भएको थियो । त्योअनुसार चालु आवको समीक्षा अवधीमा पनि यस्तो कारोबार बढेको देखिन्छ । गत आवभर भने ५१६ खर्ब ४० अर्ब ८७ करोड रुपियाँ बराबरको यस्तो कारोबार भएको थियो । 

चालु आवको साउनमा ४३ खर्ब ६२ अर्ब ४६ करोड, भदौमा ३६ खर्ब ८९ करोड, असोजमा ४५ खर्ब ५१ अर्ब १४ करोड, कात्तिकमा ३५ खर्ब ४६ अर्ब ७३ करोड र मंसिरमा ४१ खर्ब ६५ अर्ब ४५ करोड र पुसमा ४३ खर्ब ३८ अर्ब २३ करोड रुपियाँ बरारबर यस्तो भुक्तानी भएको छ । यसैगरि माघमा ४५ खर्ब चार अर्ब तीन करोड, फागुनमा ५१ खर्ब ६७ अर्ब ७७ करोड, चैतमा ५२ खर्ब ८२ अर्ब ५६ करोड र बैशाखमा ५४ खर्ब ४८ अर्ब ४५ करोड रुपियाँको डिजिटल भुक्तानी भएको छ । 

Advertisement

Advertisement