रेमिट्यान्स २७.६ प्रतिशतले बढ्यो, पाँच महिनामै ६ खर्ब १३ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएर छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ नेपाल भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको नेपालको आर्थिक अवस्थामा रेमिटान्समा उत्साह कायम रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो थियो जसमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

Advertisement

देशको विषम आर्थिक अवस्थामा रेमिटान्स बढ्दा विशेषगरी सरकारलाई धेरै राहत मिलेको छ । रेमिटान्स बढेसँगै शोधनान्तर स्थिति पनि मजबुत हुन पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा रहेको छ ।


समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई रु.२ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.तीन अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रहेको
थियो ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दा रेमिटान्स आयमा वृद्धि भएको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या उक लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३६ हजार ७७९ र एक लाख १५ हजार ९४८ रहेको थियो ।

Advertisement

Advertisement