अर्थतन्त्रको सही प्रतिबिम्ब हुनेहो भने अहिले सेयरको मूल्य बढ्नुपर्ने होः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र आर्थिक अवस्थाको प्रतिबिम्ब सेयरबजारमा नदेखिएको बताएका छन् । मंगलबार नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्दै उनले यस्तो धारण व्याक्त गरेका हुन् ।

अहिलेको अवस्थामा सेयर बजार ओरालो लाग्नुपर्ने कुनै आधारभूत आर्थिक कारण नभएको भन्दै उनले कुनै अवाञ्छित गतिविधिका कारण बजार घटेको हुन सक्ने भन्दै यसले नियामक निकाय र स्वयम अर्थमन्त्रालयले कान ठाडो बनाउनुपर्ने अबस्था आउनलागेको बताए ।

बजार बढ्नुपर्ने कारणहरु उल्लेख गर्दै उनले भने, ‘मुलुकले लागातार तेस्रो बर्ष उच्च अंकको आर्थिक वृद्धि हाँसिल गर्न गइरहेको छ । नेप्सेसँग सम्बन्धित बैैकिङ, इन्स्योरेन्स लगाएत अन्य सेवा तथा उत्पादन क्षेत्र, पर्यटन् आदि सम्पूर्ण क्षेत्रमा सकारात्मक विकास भएको छ ।’ ‘अर्थतन्त्रमा भएको यस्तो सकारात्मक विकास सेयरसबाजारमा प्रतिबिम्बित हुनुपर्छ ।’

सेयरबजारको गतिविधि धानको उत्पादनसँग प्रत्यक्ष सम्बन्धित नभएपनि नेप्सेसँग जोडिएका उद्योग, सेवा र उत्पादन क्षेत्रको विकाससँगभने जोडिनुपर्ने उनको भनाइ थियो ।

उनले सुचिकृत कम्पनीहरुले अहिले अधिक मात्रामा बोनस सेयर र हकप्रद सेयर दिएकाले प्रतिसेयर आम्दानीको आधारमा कम्पनीको अवस्था मूल्याङकन गर्न नमिल्ने पनि बताए । बोनस सेयर र हकप्रद सेयरको कारण प्रतिसेयर आय घटेपनि लगानीकर्ताको समग्र प्रतिफल बढेको उनले बताए ।

नेप्सेको अनलाइन कारोबारको सुभारम्भलाई राम्रो सुरुवात भएको भन्दै सुरुमा सानातिना समस्या आए पनि त्यसलाई समाधान गर्दै लग्नुपर्नेमा उनको जोड थियो । पुजीबजारको विस्तारका लागि अझै धेरै कुरा गर्न बाँकी रहेको पनि उनले बताए ।

उनले अहिले पूजीबजार भनेको धितोपत्र बजार, धितोपत्र बजार भनेको सेयर बजार, सेयरबजार भनेको बैंक तथा वित्तिय सस्थाको सेयरको बजार भन्ने साँघुरो बुझाइ रहेकाले यसको विकासका लागि पुर्वाधार, प्रणाली, सहभागी कम्पनीको क्षेत्र र वित्तिय उपकरणहरुमा विविधीकरण गर्नुपर्नै आवश्यकता रहेको पनि बताए ।

उनले अहिलेको तरलताको सामान्य समस्या सिजनल भएको भन्दै बैंक व्याजदर सधै माथी नरहने पनि बताए । उनले गैर बैंकिङ वित्तिय संस्थाहरुलाई पुजीबजारमा सहभागिता बढाउन पनि आग्रह गरे ।

उनले नेप्सेलाई सरकारले एक स्वयत्त संस्थाको रुपमा विकास गर्न चाहेको भन्दै यसको विकासका लागि सरकार सधैभ सकारात्मक रहेको पनि बताए । उनले सेयरबजारमा लगानी गर्दा कम्पनीको राम्रोसँग वित्तिय विश्लेषण गर्न पनि लगानीकर्तालाई सुझाब दिए । बजार घटेर घाटा भएको अवस्थामा अर्थमन्त्रालयतर्र्फ फर्केर विलौना नगर्न पनि उनले आग्रह गरे ।

उनले पूजीबजार कारोबारसँग सम्बन्धित पूजीगत लाभकरका बारेमा मन्त्रालयले छिट्टै निर्णय गर्ने पनि जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement