उच्च आर्थिक वृद्धि नेपालको अर्थतन्त्रले थेग्न सक्दैनः आइएमएफ

Advertisement

काठमाडौं । नेपाल भम्रणमा आएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को उच्चस्तरीय टोलीले उच्च दरको आर्थिक वृद्धि नेपालको अर्थतन्त्रले थेग्न नसक्ने भन्दै उच्च भन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सुझाव दिएको छ ।

नेपाल भ्रमणमा आएको आइएमएफको उच्चस्तरीय टोलीले बिहीबार राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अर्थतन्त्र आयातमा अधारित अर्थतन्त्र भएकाले यसले ठूलो अंकको आर्थिक वृद्धि थेग्न नसक्ने ठोकुवा गर्दे उच्च भन्दा पनि दिगो आर्थिक वृद्धिलाई जोड दिनु पर्ने सुझाव दिएको हो ।

‘महत्वाकांक्षी वृद्धिको पछाडि लाग्नुभन्दा दिगो वृद्धितिर लाग्नुपर्छ,’ टोली प्रमुख गिर्ट अल्मेमकिन्डर्सले भने, ‘दिगो वृद्धिका लागि थोरै आर्थिक वृद्धिको लक्ष्य रख्नु उचित हुन्छ ।’

आइएमएफको टोलीले यस अघि कोषले अक्टोबरमा विश्वको आर्थिक परिदृश्य सार्वजनिक गर्दा आगामी वर्ष नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतको हुने प्रक्षेपण गरेकोमा त्यसलाई सच्याउँदै साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने पक्षेपण पनि गरेको छ ।

राजनीतिक स्थायित्व र नियमित बिजुली प्रवाहका कारण आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको टोलीका प्रमुख अल्मेमकिन्डर्सले बताए । सरकारले चालु आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

उक्त टोलीले अर्थमन्त्री युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, सरकारी निकायका उच्च अधिकारी, निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधि र दातृ निकायका प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

राष्ट्र बैंकलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतबाट ८५ प्रतिशत बनाउन दबाब परे पनि त्यो नगर्न उक्त टोेलीले सुझाएको छ । उच्च आर्थिक वृद्धिका लागि ऋणको माग बढेको र यसले आयात प्रोत्साहित भएर शोधनान्तर र चालु खाता घाटा फराकिलो भएको तर्क टोलीको छ ।

सरकारले पनि जति खर्च गर्न सक्ने हो त्यही अनुपातमा राजस्व उठाउनुपर्ने सुझाव आइएमएफको टालीले दिएको छ । राजस्व र खर्चको तालमेल नमिलेको टोलीको ठहर छ ।
‘सरकारले राजस्व उठाए पनि खर्च गर्न सकिरहेको छैन । यसमा सुधार गर्न जरुरी छ,’ अल्मेमकिन्डर्सले भने, ‘हामी चाहन्छौं नेपालको दिगो विकास होस् ।’

आइएमएफले बैंकहरुको पुँजी अझै बढाउन सुझाव दिएको छ । लगानी विस्तारमा बैंकहरुले आक्रामक नीति लिएका कारण् यसले जोखिम निम्तिन सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि पुँजी बढाउनु पर्ने आइएमएफको टोलीको तर्क छ ।

आइएमएफले नेपाली बैंकहरुले जारी गरेको खराब कर्जाको अनुपात पनि विश्वसनिय नभएको जनाएको छ । दक्षिण एसियामै सबैभन्दा कम खराब कर्जा नेपाली बैंककोे भनिए पनि अहिले देखाइएभन्दा बढी हुनुपर्ने टोलीको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement