ललिता निवास जग्गा प्रकरणमा मुछिएकासँग बयान, सुचीमा न्यायाधीस रेग्मीदेखि बिष्णु पौडेलका छोरासम्म

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासमा जग्गा लिने र बेचबिखन गर्ने सबैसँग बयान लिने भएको छ । अख्तियारले बुधबार ५८ जनाका नाममा सूचना प्रकाशित गरी एक साताभित्र बयानका लागि डाकेको छ ।

५८ जनामा चार जनाबाहेक सबै ललिता निवासको जग्गाको कारोबार गरेका व्यक्ति हुन् । चार जना भने कर्मचारी र जग्गा किन्नेका आफन्त रहेको अख्तियार स्रोतले बतायो ।

‘बालुवाटारमा जग्गा लिने र कारोबार गर्ने सबैलाई एकपटक सोधपुछ गर्नुपर्ने भयो,’ अख्तियार स्रोतले भन्यो, ‘घरठेगाना पत्ता लगाउन कठिन भएकाहरूका हकमा मात्रै पत्रिकामा सूचना निकालिएको हो । अरू कतिपयलाई सोझै सम्पर्क गरेर बोलाइएको छ ।’

अख्तियारले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीसँग पनि बयान लिने भएको छ । उनले भाटभटेनी डिपार्टमेन्ट स्टोरका कानुनी सल्लाहकार हुँदा त्यसका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा किनेर पछि बेचेका थिए । सर्वोच्च अदालतका न्यायाधीशले गरेको कामकारबाहीमाथि पदीय उन्मुक्ति छ तर न्यायाधीश हुनुभन्दा पहिलेको कामकारबाही भएको भन्दै अख्तियारले बयानको तयारी गरेको हो । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले पनि बयान दिनुपर्ने भएको छ ।

डिल्लीबजार मालपोत कार्यालयले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाएको विवरणअनुसार ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएपछि ३३८ पटक जग्गाको कारोबार भएको छ । ५ सयभन्दा बढी कित्तामा जग्गा टुक्रिएका छन् ।

जग्गा लिनेमा राणा परिवार, केही मोही र उनीहरूका नामबाट जग्गा लिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनका परिवार छन् । भाटभटेनीका सञ्चालक गुरुङको परिवारले पनि बालुवाटारमा जग्गा किनेको थियो । व्यक्तिका नाममा जग्गा राख्नेमा केही पूर्वकर्मचारीका परिवार पनि छन् । उनीहरूसँग भने अख्तियारले बयान लिइसकेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement