महरालाई तीन दिन हिरासतमा राख्न अदालतको आदेश

Advertisement

काठमाडौं । जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्र कार्कीले बताए।

सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो। महरा दस दिन हिरासतमा बसिसकेका छन्।

महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नुपर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले महरालाई रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए।दसैं बिदा परेकोले आज मात्र उनलाई अदालत उपस्थित गराइएको हो।

यो तीन दिनमा पनि बयान नसकिए फेरि म्याद थपका लागि अदालतमा महरालाई उपस्थित गराइने छ।

Advertisement

Advertisement

Advertisement