कृषि विकास बैंकको आकर्षक लाभांश प्रस्तावः ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश

Advertisement

काठमाडौं । कृषि विकास बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ ।  बैंकले आफ्ना सेयरधनीहरुलाई नगद र बोनस सेयर गरि ३० प्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार बिहान बसेको बैंक  सञ्चालक समितिले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश  दिने निर्णय गरेको हो ।

कृषि विकास बैंकले प्रस्ताव गरेको यो लाभांश बाणिज्य बैंकहरु तर्फ तेश्रो धेरै हो । यस अघि नविल बैंकले ३५ र एनएमबी बैंकले ३४ प्रतिशत लाभांश दिएका छन् ।

लाभांशमा लाग्ने कर भने नगद लाभांशका लागि छुट्याइएको २४ प्रतिशतबाट कटाइनेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा वितरण योग्य नाफा ३ अर्ब ३१ करोड रुपैयाँ  कमाएको थियो । ३० प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने आफ्नो योजना सफल भएको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । 'लाभांश वितरण सम्बन्धी जुन लक्ष्य तय गरेको थिएँ, त्यसमा सफल भइएको छ, सञ्चालक, कर्मचारी, निक्षेप कर्ता तथा ऋणीहरु र शुभचिन्तकहरुको देन हो यो ।', सिइओ उपाध्यायले भने ।

बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांशसहित जम्मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो। २०७६ असोज मसान्त अवधीमा १४ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत छ भने स्प्रेड दर ५.२६ प्रतिशत कायम छ । बैंकको कस्ट अफ फण्ड भने ७.३४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २३.३३ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement