सेयर बजारको उछालः ७७ प्रतिशत कारोबार बढ्दा ८६ प्रतिशत रकम

Advertisement

काठमाडौं । गत हप्ता अर्थात मंसिर २२ देखि २६ गतेको अवधी सेयर बजारका लागि सकारात्मक रह्यो । यो अवधीमा सेयर कारोबार ७७.६८ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम ८६.९४ प्रतिशतले बढ्यो ।

गत हप्ता २ अर्ब ५६ करोड ५० लाख मूल्य बराबरको ८२ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ । १५ देखि १९ गतेका अवधीमा जम्मा एक अर्ब ३७ करोड २० लाख मूल्य बराबरको ४५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको थियो । यसरी हेर्दा सेयर कारोबार संख्या ३६ लाख ४९ हजार कित्ताले बढेको छ ।  मंसिर १९ गतेका दिन ११३१.९२ अंकमा रहेको नेप्से परिसूचक २६ गते आईपुग्दा ४०.१३ अंकले बढेर ११७२.६५ अंकमा पुगेको छ ।

यो अवधीमा कारोबार रकम पनि निरन्तर उकालो नै चढिरहेको देखियो । आइतबार अर्थात मंसिर २२ गते २८ करोडको कारोबार भएको थियो भने सोमबार त्यो आँकडा ४८ करोडमा पुग्यो । मंगलबार आईपुग्दा ५० करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो । बुधबार १०.११ बिन्दुले नेप्से परिसूचक वृद्धि हुँदा कारोबार रकम ५५ करोड पुग्यो । बिहिबार नेप्से ११.१७ अंकले वृद्धि भएर ७६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

किन बढ्यो बजार ?
सेयर बजारका जानकारहरुले यतिबेला लगानीका लागि अनुकुल वातावरण बन्न थालेका बताएका छन् । सूचिकृत कम्पनीहरुले धमाधम घोषणा र वितरण गरिरहेको लाभांश, सुधारोन्मुख तरलता र न्युन बिन्दुमा पुगिसकेको सेयर बजारका कारण लगानीकर्ताको मनोबल बढ्न थालेको हो ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल, सेयर लागनीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले लगानीका कर्ताको मनोबल विस्तारै उठ्न थालेको बताए । ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटका अनुसार बैंकहरुले ब्रोकर कार्यालय धाएरै मार्जिन कर्जाका लागि लगानीकर्ता पठाईदिन अनुरोध गर्न थालेका छन् । जुन सेयर बजार बढ्ने सबै भन्दा राम्रो आधार हो ।

लाभांशको आस
सूचिकृत संस्थाहरु त्यसमा पनि बैंक तथा वित्तिय संस्थाहरुले धमाधम लाभांश घोषणा र वितरण थालेका छन् । लघुवित्त कम्पनीहरुको लोभ लाग्दो लाभांश, बाणिज्य बैंकहरुको लाभांश लगायतले लगानीकर्तालाई आकर्षण गरेको बताइन्छ । बैंकमा निक्षेप राख्दा पाइने ब्याजदर भन्दा सेयर बजारबाट प्राप्त हुने प्रतिफलको आकार बढी हुन थालेपछि पनि लगानीकर्ता आकर्षित भएका हुन् ।

ब्रोकर कार्यालय धाउन थाले बैंक
बैंकमा तरलता बढेपछि यतिबेला बैंकका कर्मचारीहरु ब्रोकर कार्यालय धाउन थालेका छन् । बैंकका कर्मचारीले ब्रोकर कार्यालय धाएर ऋण लिन पठाईदेऊ भन्न थालेपछि लगानीकर्ताको मनोबल बढ्न थालेको हो । यतिबेला सेयर बजारका लगानीकर्ताले सजिलै र पहिले भन्दा न्युन ब्याजदरमा ऋण पाउन थालेका छन् ।

Advertisement

Advertisement

Advertisement