गोल्डेन लाइटका बिनोदकुमारसहित ५ जना बिरुद्ध मुद्दा दर्ता, श्रम स्वीकृति छिटो गरिदिने भन्दै लिए २२ हजार

Advertisement

काठमाडौँ । श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहानामा २२ हजार रकम लिने गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रालिका म्यानेजिङ डाइरेक्टर बिनोदकुमार भूजेल सहित ५ जना बिरुद्ध मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्स संचालन भूजेलसमेतले श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहाना बनाई निवेदकसँग २२ हजार रुपैयाँ घुस माग गरेको भन्ने उजुरी परेको हो ।

उक्त उजरीमाथि अनुसन्धान हुँदा भूजेलले बसन्त श्रेष्ठ, बुध्द तामाङ, अजय नगर्जी परियार र महानगरी दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान रमेश सिंह विष्ट समेतको मिलेमतोमा जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै सेवाग्राहीसँग घुस बापत २२ हजार लिएको तथ्य पुष्टी भएको प्रवक्ता कोइरालाले बताए ।

भूजेल सहित ५ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम जरिवाना र कैद सजायको माग दावी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement