एक भए दुई बचत तथा ऋण सहकारी संस्था

Advertisement

रामपु्र । पाल्पाको तिनाउ गाउँपालिकामा रहेका दुई सहकारी एक भएका छन् । देशमा विभिन्न बैंक तथा वित्तीय संस्था एकीकरण भइरहेका बेला फुलबारी बचत तथा ऋण सहकारी संस्था र डुम्रे दुग्ध उत्पादक सहकारी संस्था एकापसमा गाभिएका गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ६ को मस्याम डुम्रेको रु एक हजार २०८ शेयर सदस्य रु १४ करोड ७१ लाख वार्षिक कारोवार गर्ने सहकारी संस्था र २२३ शेयर सदस्य रहेको रु २२ करोड ७३ लाख आर्थिक कारोवार गर्ने डुम्रे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको हो ।

दुई सहकारी एक हुँदा फुलबारी दुग्ध तथा तरकारी उत्पादक सहकारी संस्था लिमिटेड नामाकरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष घर्तिले सहकारीको सङ्ख्या कम गरेर शेयर सदस्य सङ्ख्या वृद्धि गर्ने स्थानीय सरकारको नीति रहेकाले यस्तो गरिएको बताए । घर्तिले कृषकलाई आत्मनिर्भर बनाउँदै तरकारी खेती, दुग्ध उत्पादन, कृषि उपजलगायत उत्पादन मुलक आयआर्जनमूलक कार्यमा गाउँपालिकाले सघाउँदै आएकोमा जोड दिए ।

गाउँपालिका नजिकै रहेको प्रदेश नं ५ को केन्द्रका रुपमा रहेको बुटवल बजारसम्म तरकारी तथा कृषि उपज बिक्रीका निम्तिसमेत सहज भएकाले सहकारीका माध्यमबाट गाउँमा कृषिको विकास गर्ने गाउँपालिकाको योजना छ । सहकारी एकीकरणपछि दुर्गा खाँड अध्यक्ष रहेको नयाँ कार्यसमितिसमेत गठन गरिएको छ । अन्तरिम कार्यसमितिले तीन महिनाभित्र अधिवेशन गर्ने कार्यदलका संयोजक गोपाल जिसीले बताए । रासस

Advertisement

Advertisement

Advertisement