धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम 'सर्टलिष्टिङ'

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनौट गर्न बनाइएको समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ । सर्टलिष्टिङमा पर्नेहरुमा निरज गिरी, भीष्मराज ढुँगाना, डा. नवराज अधिकारी, केशवलाल श्रेष्ठ र सीताराम थपलिया छन् ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुँगाना र आइक्यानका अध्यक्ष आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।

समितिले बिहीबार आठ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो । उनीहरुमध्येबाट अब तीन जना सर्टलिष्टिङ गरी नियुक्तिका लागि तिनै जनाको नाम मन्त्रिपरिषदमा लगिने छ । मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । सेबोन धितोपत्र बजारको नियामक निकाय हो ।

छनोटमा परेकामध्ये गिरी बोर्डमै कार्यरत कार्यकारी निर्देशक हुन भने ढुँगाना नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । त्यस्तै, थपलिया नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्वमहाप्रवन्धक हुन् भने अधिकारी बोर्डका उपनिर्देशक हुन् । धितोपत्र दलाल कम्पनीका सञ्चालक नरेन्द्र सिजापति, निल सारु मगर र डा. बलराम पाठक छनोट प्रक्रियाबाट बाहिरिएका छन् ।

सेबोनको अध्यक्ष हुन प्रतिस्पर्धीहरुले राजनीतिक लबिङलाई तीब्र पार्दै आएका छन् । समितिले आउँदो हप्तामा तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement