इक्यानको व्यवसायिकता, व्यापकता र स्थायित्वका लागि दोस्रो कार्यकाल- पाण्डे

काठमाडौं । गतिलो शिक्षा नभएसम्म देश बन्दैन भन्ने निष्कर्षसहित मैले शिक्षा  क्षेत्रलाई रोजेको हुँ । यो सबै भन्दा महत्वपूर्ण क्षेत्र हो र राज्यले पनि यसलाई नै केन्द्रमा राखेको छ । शिक्षाले नै समाज बदल्न सकिन्छ भन्ने लागेर म १६ वर्ष अघि यो क्षेत्रमा संलग्न भएको थिएँ । मेरो स्पष्ट विचार छ-‘शिक्षा सबैका लागि, चाहे स्वदेशमा होस वा विदेशमा ।’ म करिअर काउन्सलरका रुपमा शिक्षा क्षेत्रमा आएको थिएँ ।

अहिले म संलग्न शैक्षिक संस्थामा ७ हजार २ सय जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विदेश अध्ययन गर्न जान चाहनेहरुका लागि शैक्षिक परामर्श दिने संस्था पनि सञ्चालन गरिरहेको छु ।

शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व
कुनै दिन राज्यले शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी गर्ने, नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य दिनुपर्छ भन्ने मान्यता मेरो थियो । त्यो मान्यतामा म आज पनि अडिग छु । तर त्यो शिक्षामा सबैको पहुँच हुनुपर्छ र त्यो विश्वले स्वीकार गर्ने, चिन्ने शिक्षा हुनुपर्छ भन्ने मेरो मान्यता हो । आजका दिनमा सरकारले विश्वस्तरीय शिक्षा सबैलाई निःशुल्क उपलब्ध गराउन सक्ने अवस्था छैन । जुन दिन त्यस्तो अवस्था आउँछ, त्यो दिन म आफुले गर्नुपर्ने त्याग गर्न तयार हुनेछु । तर आजका दिनमा राज्यले पनि आफ्नो त्यो दायित्व पूरा गर्न सकिरहेको छैन भने हामीले केहि त गर्नै पर्ने हुन्छ । त्यसैले हामी निजी क्षेत्रका तर्फबाट शिक्षामा लगानी गरिरहेका छौं । नेपाली आमाबाबुका छोराछोरीलाई विश्वस्तरीय शिक्षा दिईरहेका छौं ।

नेपालका सवालमा निजी स्कुलहरु सरकारी भन्दा अब्बल भए । सरकारीले दिने भन्दा राम्रो र विश्वस्तरीय शिक्षा निजी शैक्षिक संस्थाहरुले दिईरहेका छन् । राज्यको ठूलो धनराशी खर्च भएको छ तर सदुपयोग भने भैरहेको छैन ।

इक्यान र म
म आज भन्दा २० महिना अघि नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अध्यक्ष बनेको हुँ । यसपाली मैले साधारण सभा र अधिवेशन एकै पटक आयोजना गर्ने निर्णय गराएको छु । पुस २६ गते साधारण सभा र अधिवेशन गर्ने निर्णय भएको छ । मैले अहिलेको कार्यकालमा केहि महत्वपूर्ण काम गरेको छु । अर्काे एक कार्यकाल जिम्मेवारी लिएर थप केहि काम गर्न चाहान्छु ।

मेरो नाममा सहमति हुनेछ भन्ने आशा छ । मसँग निर्वाचनमा जान कोहि पनि आउनु हुन्न भन्ने मैले विश्वास पनि गरेको छु । कतिपयलाई हिजो नेतृत्व दिएर परीक्षण पनि गरिसकिएको छ । म अहिले काम गरिरहेको छु र फेरी पनि काम गर्न चाहान्छु ।

यो अवधीमा हामीले राज्यसँग ठूलो संघर्ष गर्नुपर्नेछ । त्यसैले साथीहरुले मलाई रोक्ने प्रयास गर्नुहुन्न भन्ने लागेको छ । शैक्षिक परामर्शका क्षेत्रमा आउन लागेको विदेशी लगानी रोक्ने, शैक्षिक परामर्श सम्बन्धी कानुन बनाउनु पर्नेछ । साथीहरुले मजाकका रुपमा चुनाव लड्न आउनु हुन्न भन्ने मेरो विश्वास हो ।

२ बर्से उपलब्धि
हामीले सुधारका नियमित काम गर्दै आयौं तर अब समयले ‘र्याडिकल चेञ्ज’ खोजिरहेको छ । व्यवसायीहरुको क्षमता अभिवृद्धिमा हामीले यो कार्यकालमा महत्वूर्ण काम गर्यौं । भिषा पोलिसी, अध्यागमन पोलिसीको विषयमा चाँडो चाँडो जानकारी उपलब्ध गरायौं । मैले नेतृत्व सम्हाल्दा इक्यानमा सदस्य संख्या पाँच सय हाराहारी पुर्याउँछु भनेको थिएँ । ३१४ वटा सदस्यलाई बढाएर अहिले ४७८ वटा पुर्याएका छौं । २३ वर्ष पुरानो संस्थालाई थप बलियो बनाउन केहि काम गरियो र अझै केहि काम गर्ने सोँच छ । जिल्ला जिल्लामा इक्यानका शाखाहरु विस्तार गरियो । पेण्डुलम बनेको संगठन विस्तारलाई अघि बढायौं ।

क्रियाशिलताले अस्थित्वको निर्माण गर्छ भन्ने मेरो मान्यता छ । हामीले इक्यानको पाँचौं शाखा बुटवलमा गठन गरेका छौं, छैठौं शाखा झापामा गठन गरियो । यहि अवधीमा इक्यानका सदस्यहरुलाई विश्वस्तरीय परामर्शको तालिम दिलाएका छौं । नो अब्जेक्सन लेटरको समस्या समाधानको पहल गरिएको छ ।

शैक्षिक परामर्शका क्षेत्रमा विदेशी लगानी भित्र्याउने तयारीको हामीले प्रतिरोध गरिरहेका छौं ।

अब के गर्ने ?
हामीले इक्यानलाई व्यवसायीहरुको साझा संस्था बनाउने हो । ‘गेट काउन्सलिङ फ्रम इक्यान मेम्बर’ भन्ने नारा अघि सारिएको छ । उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु पर्नेछ । इक्यानको डिजिटल व्यवस्थापन र स्थायित्व अबका कार्यभार हुन् । त्यसलाई पुरा गर्न पनि मैले दोश्रो कार्यकाल नेतृत्वको आकांक्षा राखेको हुँ ।

आजका दिनमा १४७३ वटा संस्थाले शिक्षा मन्त्रालयबाट अनुमति पाएका छन् । ७३० वटा स्वीकृतिको चरणमा छन् । इक्यानमा ४७८ वट संस्था आवद्ध छन् । इक्यान बाहिर नै २ हजारको संख्यामा संस्था जथाभावी चलिरहेको देखिन्छ । हाम्रो चुनौती भनेकै इक्यानको विस्तार पनि हो । उनीहरुलाई इक्यानको छातामा ल्याउनु पर्नेछ । त्यसका लागि हामी नयाँ कार्यकाललाई केन्द्रित गर्नेछौं । सबैलाई हाम्रो छातामा ल्याएर नियमन गर्ने, व्यवसायिक बनाउने काम गर्छाै ।

पढेलेखेकालाई विदेश भगाउने ?
माथिल्लो ओहदामा बसेकाहरुले हामीलाई ‘ब्रेन ड्रेन’ गराएको आरोप लगाउने गर्छन्, तर त्यसमा कुनै दम छैन् । उनीहरुले नेतृत्व गरिरहेको कार्यालयमा यतिबेला विदेशमा गएर पढेर फर्केका कति मानिसले काम गरिरहेका छन् भन्ने पनि हेर्नुपर्छ । अर्काे कुरा यस्तो आरोप लगाउनेहरु नै आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउनेहरुको पहिलो सूचिमा पर्छन् ।

हामीले बुझ्नुपर्ने कुरा विदेश पढ्न जाने भनेको ब्रेन गेन(ज्ञान प्राप्त) गर्न हो । हामीले सन् २००८ सालमै नेपाललाई शिक्षाको हब(केन्द्र) बनाउन सकिन्छ भन्ने नारा अघि सारेका थियौं । त्यतिबेला विदेश पढ्न पठाउनेहरुले यस्तो नारा लगाए भन्ने गरिन्थ्यो । आज राज्यले नै नेपाललाई शिक्षाको हब बनाउने भन्न थालेको छ । यस अर्थमा हामी खुसी पनि छौं । आज राज्यले शिक्षाको हब बनाओस, हामी विदेशबाट पढ्न यहाँ विद्यार्थी ल्याईदिन्छौं । अहिले जसरी पठाईरहेका छौं, त्यसरी नै विदेशी पद्यार्थीलाई यहाँ पढ्न ल्याउछौं ।

विदेश गएका किन उतै बस्छन् ?
आजको युगमा कसैलाई रोक्न सकिन्न । ग्लोबल भिलेज, ओपन सोसाइटीको कुरा गर्दा कसैलाई पनि रोक्न, छेक्न सकिन्न । फेरी पनि पढेर स्वदेश फर्कनेहरुको संख्या बढीरहेको देखिन्छ । मैले एउटा अध्ययन रिपोर्ट पढेको थिएँ । त्यसमा विदेशमा अध्ययन गर्न गएकाहरुमध्ये २१ प्रतिशत स्वदेश फर्किएको उल्लेख थियो ।

आजका दिनमा कर्पाेरेट हाउसहरुमा विदेशमा गएर पढेर फर्केकाहरुको ठूलो संख्या देख्न सकिन्छ । विदेशमा पढेकाहरु धमाधम स्वदेश फर्केर उद्यमी बनिरहेको पनि देखिन्छ । विदेश गएर फर्केकाहरुलाई नेपालमा अवसर पनि बढिरहेको देख्छौं ।

विदेश गएकाहरुलाई स्वदेश फर्काउनकै लागि हामीले करिअर काउन्सलिङ पनि गरिरहेका छौं । विदेशमा पढेपछि नेपालमा के अवसर पाइन्छ भनेर भनिरहेका छौं । यसमा राज्यले पनि भूमिका खेल्नुपर्छ । देशलाई शिक्षाको हब बनाउने घोषणा गरियो भने थप राम्रो हुन सक्छ ।

पढ्ने खेति मात्रै !
नेपालमा प्लस टु गरेपछि स्नातक र स्नातकपछि स्नातकोत्तर पढ्ने चलन छ । यस्तो दुनियाँमा कहिँ पनि हुन्न । विदेशमा स्नातक तह पढेपछि काम गर्छन्, उद्यममा लाग्छन् । करिअरमा थप प्रगतिका लागि, अनुसन्धानका लागि आवश्यकता पर्यो भने मात्रै मास्टर्स अध्ययन गर्ने हो । तर हामी भने पढ्नमै व्यस्त भयौं । हाम्रो पढाई कामसँग जोडिएन, खाली प्रमाणपत्र लिनमै केन्द्रित भयो । इण्डष्ट्री र एकेडेमीको फ्युजन हुन सकेन । अविभावकहरुले पनि आफ्ना सन्तानलाई आत्मनिर्भर बन्न भन्दा पनि आफु प्रति निर्भर रहन मात्रै प्रेरित गरेको जस्तो देखियो ।

विदेश जानु अघि के के सोच्ने ?
‘मेरो छिमेकीको छोरा विदेश गयो र उसले घरको तला थप्यो ।’ आज हाम्रो सोँच यहि कुराबाट प्रेरित भएको देखिन्छ । विदेश गएका कसैले पनि आफ्नो दुःखको फोटो फेसबुक, ट्वीटर वा इन्स्टाग्राममा हालेको मलाई थाहा छैन् । यस्तै कुरा देखेर मान्छे विदेश जान प्रेरित भएको देखिन्छ । तर त्यहाँ सुख मात्रै छैन, दुःख पनि छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । विदेश जानु अघि आफ्नो शैक्षिक योग्यता, वित्तिय अवस्था, अध्ययनपछि प्राप्त हुने अवसरबारे राम्रोसँग बुझ्नुु आवश्यक हुन्छ । राम्रो अध्ययन नै नगरि विदेश जाँदा दुःख पाइन्छ । यी कुरामा ध्यान दिनुपर्छ ।

अन्त्यमा
हामीले ब्रेन ड्रेन गराएका छैनौं । हामीले विदेश पठाएका विद्यार्थीहरुले देशका लागि गरेका योगदानहरुको राज्यले अध्ययन गरोस् ।