प्रदेश २ को ८७ करोड भुक्तानी प्रकरणः मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई जुत्ता हानियो

Advertisement

जनकपुरधाम । प्रदेश २ मा उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी भनिएको ८७ करोड रुपियाँको विषयले उग्र रुप लिन थालेको छ । उक्त प्रकरणले लामो समयदेखि प्रदेश संसदसमेत ठप्प रहेको बेला आन्दोलनकारीहरु सडकमै उत्रिएर विरोध जनाउन थालेका छन् । शुक्रबार मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता हान्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम माग आन्दोलन चर्किएको हो । ठूलो भ्रष्टाचारको रुपमा हेरिएको यस भुक्तानी प्रकरणमा उपभोक्ता समितिहरुद्धारा गठित संघर्ष समितिले मुख्यमन्त्री लालबाबु राउतसहित आधा दर्जन मन्त्रीहरुलाई जुत्ता हानेको हो । संघर्ष समितिले जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता हानेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

जुत्ता खाने मन्त्रीहरुमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह छन् । उनीहरुको फोटो झुन्डयाएर जुत्ता हानिएको हो ।

विभिन्न मन्त्रालयले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम सम्पन्न गरेपछि पनि भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित जुत्ता हान्ने कार्यक्रम बनाएको थियो । उपभोक्ता समितिमार्फत जथाभावी गराइएको कामको भुक्तानी दिँदा बेरुजु हुने भएपछि सरकारले भुक्तानी गर्न सकेको छैन् ।

गत आर्थिक वर्ष २०७५।७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपियाँ भुक्तानी हुन बाँकी रहेको उपभोक्ता समितिहरुको दावी छ । प्रदेश सरकारले रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि उपभोक्ता समितिहरु आन्दोलनमा छन्।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे स्पष्ट जवाफ दिन प्रदेश संसदका सभामुख सरोज यादवले प्रदेश सरकारलाई रुलिङ गरे पनि मुख्यमन्त्री राउतले जवाफ दिन सकेका छैनन् ।

Advertisement

Advertisement