जेम इन्टरनेशनल कन्क्लेभमा महासंघको सहभागिता, सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौ । दि एसोसिएटेड च्याम्वर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डियाद्वारा बिहीबारदेखि भारतको नयाँ दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा विशेष अतिथिको रूपमा निम्त्याइएका महानिर्देशक खतिवडाले नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन समेत गरे । कार्यक्रमलाई सम्वोधन गर्दै महानिर्देशक खतिवडाले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य सहित नेपाल अगाडि बढीरहेको र त्यसका लागि सरकारले निजी क्षेत्र समेतको सहयोगमा कार्य गरिरहेको जानकारी गराए ।

यतिखेर जलवायु परिवर्तनको विषयले विश्वकै ध्यानाकर्षण गराइरहेको अवस्थामा नेपालले पनि यसबाट आउन सक्ने चुनौतीहरूलाई सामना गर्दै दीगो आर्थिक विकासको गतिलाई निरन्तर अगाडी बढाउन तयारीहरू गरिरहेको बताए । यसका लागि सरकारले अगाडी सारेका नीति तथा योजनाहरू सफल पार्न निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले उर्जा दक्षता, नविकरणीय उर्जा, वातावरण संरक्षणमा सहयोग गर्ने औद्योगिक उत्पादनहरूको प्रवद्र्धनमा विशेष जोड दिइरहेको जानकारी गराए ।

दीगो विकास लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सहयोग गर्न निजी क्षेत्रले सरकारसंग नजिकमा रहेर कार्य गर्दै आएको धारणा राखदै महानिर्देशक खतिवडाले सरकारले अगाडि बढाएको ग्रीन क्लाइमेट फण्डको अभियानमा महासंघ सहभागी भई सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको स्पष्ट पारे ।

कार्यक्रमकै शिलसिलामा विहीबारनै महासंघ र एसोचेमबीच संयुक्त सहकार्य गर्ने उद्देश्यले एक सहमतीपत्रमा हस्ताक्षर समेत भएको छ । सहमतीपत्रमा महासंघका महानिर्देशक खतिवडा र एसोचेमका महासचिव दीपक सुदले हस्ताक्षर गरे । सहमती अनुसार नेपाल र भारतबीच उद्योग व्यवसाय, संयुक्त लगानी, प्रविधि आदान प्रदान तथा व्यवहारिक समस्या समाधानमा सहकार्य गर्ने उल्लेख छ ।

कार्यक्रममा सार्क क्षेत्रका उद्यमी व्यवसायीहरू, भारतीय सरकार तथा निजी क्षेत्रका पदाधिकारी, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ । कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।

Advertisement

Advertisement

Advertisement