लगानी सम्मेलनको मिति नजिकिदै गर्दा राजदूत र दातृ निकायसँग प्रधानमन्त्रीले गरे छलफल

Advertisement

काठमाडौं । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन् । 

मंगबार दिउँसो सिंहदरबार बाहिर राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनले सडक तनाबग्रस्त हुँदा भित्र प्रधानमन्त्री लगानी सम्मेलनका लागि छलफल तथा परामर्शमा व्यस्त थिए । सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन गर्दैछ । 

Advertisement

आजको छलफलमा प्रधानमन्त्री दाहालले नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानी परियोजनाहरू समेत तयार गरेको बताए । सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोगको अपेक्षा गरेको पनि उनले बताए । 

लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू ‘शोकेस’, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने जनाइएको छ । लगानीकर्ताले त्यो अवसर उपयोग गर्ने अपेक्षा रहेको पनि दाहालले बताए । उनले भने,  ‘सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छ । लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ ।’

प्रधानमन्त्री दाहालले लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन)मा निर्भर हुने बताए । लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उनको भनाइ छ । 

कूटनीतिक नियोग, दातृ निकाय तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनौटको गन्तव्य बनाउन पहल गरिएको दाहालको भनाइ छ । 

मुख्यसचिव बैकुण्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिँदै लगानी सम्मेलनमा शोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने बताए । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी लगानी सम्मेलनको तयारी, संशोधन हुन लागेका कानुनहरू तथा लगानी सम्मेलनमा शोकेसका हुने परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए । 

सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, ऋणदाता, विकास वित्त प्रदायक, बैंक तथा वित्तीय संस्था, विज्ञ, थिंक ट्यांक लगायतलाई एकै ठाउँमा ल्याउने बताए । त्यसले गर्दा विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानी सम्बन्धी समझदारी÷सम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने उनको भनाइ छ  

छलफलमा  राजदूतज्यूहरू र विकास साझेदार संस्थाका प्रतिनिधिहरूले कानुन संशोधनका व्यहोरा, परियोजनाका विवरण तथा द्विपक्षीय लगानी संरक्षण सम्झौता जस्ता विषयमा चासो राखेका थिए । लगानी सम्मेलनको पूर्ण सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता समेत उनीहरुले गरेका थिए ।

Advertisement

Advertisement