एक लाख ५० हजार घुस खाने खरिदार बिरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

काठमाडौँ । एक लाख ५० हजार घुस लिने भूमिसुधार तथा मालपोत कार्यालय, महेन्द्रनगर कन्चनपुरकी खरिदार ललिता रोकाया बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शुक्रबार उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती गरी उक्त काम गरिदिए वापत घुस रकम माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले खरिदार रोकायालाई सेवाग्राहीबाट एक लाख पचास हजार रुपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खरिदार रोकायाले सेवाग्राहीसँग भिमदत्त नगरपालिका वडा नंम्बर ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी घुस माग गरी लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको प्रवक्ता कोइरालाले बताए ।

खरिदार रोकायाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स–प्रमाण पुष्टि भएकोले एक लाख पचास हजार रुपियाँ बिगो विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

२५ हजार घुस रकम सहित विद्युतका कर्मचारी पक्राउ
यता, काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीसमेत २ जना २५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस माग गरेका थियो । सो सम्बन्ध अयोगमा परेपछि आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पचीस हजार घुस रकम सहित विहीबार गुडफुड तन्दुरी अगाडिबाट पक्राउ गरेको हो । रंगेहात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

घुस लिएको अभियोगमा पक्राउ
यसैबीच, पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement