मालपोतका कार्यालय सहयोगीको ९ करोडको अबैध सम्पत्ति, विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । अबैध रुपमा झण्डै ९ करोड सम्पत्ति आर्जन गरेका मालपोत कार्यालय चावहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेत बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहयोगी बस्नेतले अवैध रुपमा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकाले बिगो कायम गरी विहीबार मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मालपोत कार्यालय चावहिल (हाल निलम्बित) कार्यालय सहयोगी बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकोले कारवाही गरी पाउँ भनी उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

‘२०४५ कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि आव २०७५/०७६ सम्मको अवधिलाई जाँचअवधि लिएर अनुसन्धान गर्दा तलब पारिश्रमिक बचत आय/ घरजग्गा बिक्री/ सवारीसाधन बिक्री/ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा/ आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी चौहत्तर लाख त्रिहत्तर हजार तीन सय त्रिहत्तर रुपियाँ वैध आय आर्जन भए गरेको देखिन्छ’- आयोगको अनुसन्धानबाट स्पष्ट भएको छ । ।

उनले मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजश्व दाखिला नगरी भ्रष्टाचार गरेको भन्ने कसुरमा समेत विशेष अदालतमा २०७५ पुस १५ गते दायर मुद्दा गरिएको छ । आयोगमा परेको उजुरीका आधार अनुसन्धानको क्रममा २०७५ असोज २५ मा पक्राउ परेका समयमा उनबाट स्रोत नखुलेको ११ लाख रुपियाँ समेत बरामद भएको थियो ।

कुन शीर्षकमा कति सम्पत्ति ?
बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर समेत ६ करोड ७४ लाख २५ हजार १४५ रुपियाँ, आमा टुकुकुमारी बस्नेतको नाममा रहेको जग्गामा लगानी गरी बनाएको घर निर्माणमा ६२ लाख ९० लाख ५४८ रुपियाँ, कर्जा एवम् सापटी चुक्ता प्रयोजनमा ३९ लाख ,७६ हजार २९०रुपियाँ, जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा ५ लाख ७० हजार ४९० रुपियाँ, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख, पुँजिगत लाभकरमा ३ लाख ४७ हजार ४० रुपियाँ, छोरा छोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३२५ रुपियाँ, शेयर खरिदमा १८ हजार रुपियाँ, भ्रष्टाचारजन्य कसुरको अनुसन्धानमा पक्राउ पर्दा निजको साथमा फेला परेको स्रोत नखुलेको नगद ११ लाख, श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाइ भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई लगानी गरिएको १ करोड र बैंक खाताहरुमा देखिएको अन्तिम मौज्दात ५ लाख ८७ हजार १४८ रुपियाँ समेत गरी नौ करोड त्रिहत्तर लाख एकतीस हजार नौ सय छयासी रुपियाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

उनको बैध आय ७४ लाख ७३ हजार ३७३ रुपियाँको तुलनामा ८ करोड ९८ लाख ५८ हजार ६१३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम राजेन्द्र बस्नेत तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement