सडक डिभिजनका निमित्त प्रमुख र दुई इञ्जिनियरले खाए १९ लाख घुस, अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त प्रमुख र दुई इञ्जिनियर विरुद्ध झण्डै १९ लाख घुस खाएको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सडक डिभिजन कार्यालय, लहान सिराहाका इञ्जिनियर नविनकुमार साह र सव–इञ्जिनियर विरेन्द्रकुमार साह बिरुद्ध मुद्दा दायर भएको छ । १५ लाख ९६ हजार रुपियाँ भ्रष्टाचार गरेको माग दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

इञ्जिनियर नविनकुमार र सव–इञ्जिनियर विरेन्द्रकुमारले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट पन्ध्र लाख छयानब्बे हजार घुस लिइसकेको अवस्थामा यसअघि नै दुवैलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नविनकुमार र विरेन्द्रकुमारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले १५ लाख ९६ हजार बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले जनाएका छन् ।

त्यसैगरी, सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह बिरुद्ध पनि मंगलबार नै मुद्दा दायर भएको छ । ३ लाख घुस लिएको ठहर सहित आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

निमित्त डिभिजन प्रमुख साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा साहले सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी समेतका काम गरिदिए तीन लाख रुपियाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै ३ लाख रुपियाँ बिगो माग दाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement