हिमालयन बैंकले १ अर्ब ७४ करोड नाफा कमायो, प्रतिशेयर आम्दानीपनि बढ्यो

Advertisement

काठमाडौं । हिमालयन बैंकले चालु आव २०७६/७७ को दोस्रो त्रैमास(पुस मसान्त) सम्ममा १ अर्ब ७४ करोड २४ लाख रुपियाँ नाफा कमाएको छ । गत आव सोही अवधिमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आव भन्दा चालु आवको समीक्षा अवधिमा २७.४५ प्रतिशत नाफा वृद्धि भएको देखिन्छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब १० करोड २७ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य मुनाफा ९२ करोड ९२ लाख रहेको देखिन्छ ।

समीक्षा अवधिमा १ खर्ब १२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९७ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.७४ गुणा कायम भएको छ । निष्क्रिय कर्जा १.२८ प्रतिशत, आधार दर(बेस रेट) ८.९२ र स्प्रेड दर ५.३२ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले नाफा बढाएपछि प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement