सत्तारुढ एक नेताको दावी– यो सरकारले दुई बर्षमै मुलुकलाई संवृद्धिको नयाँ युगमा पुर्यायो

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकारले दुई वर्षमा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘राजनीतिक क्रान्ति सम्पन्न भइसकेको छ । अब मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराईएको छ । यो सरकार गठन भएको दुई वर्ष भयो, यो सरकार पूरानाको निरन्तरता होईन, नयाँ संविधान आएपछि नयाँ व्यवस्थाअनुसार बनेको सरकार हो ।’

रायमाझीले सरकारले सयौं नयाँ कानूनहरु निर्माण गरेको सुनाउँदै यसलाई सरकारको सफलतामा दर्ज गराए । उनले भने, ‘संक्रमणकालको अन्त्य भएको छ । सरकार अहिले दिन दुई गुणा र रात चौगुणा काम गरेर अघि बढेको छ । अब विकासका गतिविधि अघि बढ्छन् । यो सरकारले अपराधका घट्नाहरु सतहमा ल्याएको छ । भ्रष्टाचार गर्नेहरुलाई कारबाही थालेको छ । को आफ्नो ? को अरुको ? नभनिकन यो सरकारले कारबाही अघि बढाएको छ । सवाल त हामीले सही र गलत हेर्ने हो ।’ पछिल्लो समेत अपराध र भ्रष्टाचार अनुसन्धानको दायरा बढेको रायमाझीको तर्क छ ।

सरकारले गल्ती गर्नेहरु जो कोही पनि कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । रायमाझीले भने, ‘जसले गल्ती गर्छ उसलाई कारबाही गर्नुपर्छ । तर, गल्ती नगर्नेलाई उन्मुक्ति दिनुपर्छ ।’ सरकारले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाएको उनको तर्क छ । नेता रायमाझीले भने, ‘बजेट र अधिकारलाई केन्द्र र प्रदेशबीच सन्तुलित बनाएर अघि बढाएको छ । यो एक हदको सफलता हो ।’

तर, जनजिविका र गरिबीको सवालमा भने सरकारले सुधार गर्नुपर्ने उनको सुझाव छ । रायमाझीले भने, ‘सरकारले शिक्षा, स्वास्थ्यमा काफी मात्रामा ध्यान दिन जरुरी छ । करको विषयमा केही ओभरल्याप भएको छ । यसमा ख्याल गर्नुपर्छ । करको मारमा जनता परेका छन् । सरकारले ध्यान दिन जरुरी छ ।’
रायमाझीले एमसीसीको सवालमा नेकपाले कार्यदल गठन गरेको सुनाउँदै यसबारेमा अहिले बोल्नु सान्दर्भिक नहुने टिप्पणी गरे । उनले भने, ‘कार्यदलले यसबारेमा अध्ययन गरिरहेको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टीले यसबारेमा आवश्यक मूल्यांकन गरेर सुझाव दिन्छ । तर, विदेशी सहयोग वा अनुदान लिँदा हामीले आफ्नो राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ । र, आत्मनिर्णयको अधिकार सुरक्षित गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement