शाहीको प्रश्न– आफ्ना माग पूरा भएन भनेर मान्छे मार्नेहरुले राप्रपालाई आन्दोलन गर्न सिकाउने ?

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् ।  

बुधवार प्रतिनिधि सभा बैठकमा उनले सहकारीमा लाखौँ मानिसहरु पीडित भएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने बताए । यसअघि पनि संसदबाट संसदीय छानविन समिति बनेको उल्लेख गर्दै शाहीले अब पनि संसदीय छानविन बनाउनुपर्ने बताए । 

Advertisement

नेता शाहीले मंगलवार (हिजो) राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको बताए । गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए । 

शाहीले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माईतीघर मण्डला निषेधित गराउनुभएको छ । आज भद्रकालीको मन्दिरसम्म निधेषित बनाउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रुपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरुको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला । सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो । रत्नपार्क निषेधाज्ञा हुन्छ ? भृकुटीमण्डप निषेधाज्ञा हुन्छ ? भद्रकालीको मन्दिर निषेधाज्ञा हुन्छ ?’

उनले थपे, ‘यस्तो गरेर उहाँहरुले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरुले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रुपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् । सहकारीमा लाखौँ मानिसहरु पीडित छन् । छानविन समिति बनाऔँ । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔँ ।’

प्रमुख सचेतक शाहीले २०४७ सालपछिका सार्वजनिक व्यक्तिहरुको सम्पती छानविन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए । साथै, उनले आफूभन्दा पहिला बोल्ने माओवादी केन्द्रका साँसद माधव सापकोटालाई पनि जवाफ दिँदै आफूहरुलाई आन्दोलन गर्न नसिकाउन सुझाव दिए । जुन गोरुको सिंह छैन्, त्यसको नाम तिखे भने जस्तो जसले आफ्नो माग पूरा भएन भनेर मान्छे मारेर आएको छ, उसले आफूहरुलाई आन्दोलन गर्न सिकाउन नसुहाउने शाहीको तर्क छ । 

Advertisement

Advertisement