भ्रष्टाचार मौलाएको भन्दै संसदमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना

Advertisement

काठमाडौं । संसदमा काँग्रेससहित प्रतिपक्ष दलहरुले सरकारको चर्को आलोचना गरेका छन् । पछिल्ला भ्रष्टाचार प्रकरणको चर्को आलोचना गर्दै नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी ओलीको आलोचना गरे ।

उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको भन्दै भ्रष्टाचार मौलाउनुमा प्रधानमन्त्री नै प्रमुख कारण भएको आरोप लगाएका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका विभिन्न परियोजना तथा खरिद प्रक्रिया, प्रधानमन्त्रीले सोमबार मनाएको विवादास्पद जन्मोत्सव, ललिता निवासको जग्गालगायतका प्रकरणमा व्यापक भ्रष्टाचार भएको भन्दै प्रतिपक्षहरुले प्रधानमन्त्रीले यी विषयमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

काँग्रेस नेता मिनेन्द्र रिजालले व्याँग्यात्मकरुपमा प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै प्रधानमन्त्रीले ६९औं जन्मोत्सवमा नेपालको नक्सा अंकित केक काट्ने, त्यसमा यती समूहको संलग्नताको बारेमा आलोचना गरे । उनले
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा निवर्तमान सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बढी कमिसन दिने कम्पनीलाई दिन खोजेको बाँस्कोटाको अडियोबाट पुष्टि भएको बताए ।

रिजालले ७० करोड कमिसन माग्दा मन्त्रीलाई लाज लागेन ? भन्द्यै भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्री र यति होल्डिङ्सको सम्बन्धबारे पनि उनले प्रश्‍न उठाए । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफू निकटकालाई छुट दिएको र प्रतिपक्षी तथा आफ्नो गुटबाहिरका व्यक्तिलाई कारबाही गर्ने एवं तर्साउने काम भइरहेको पनि रिजालले बताए ।

उनले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्बौंका आयोजनामा व्यापक भ्रष्टाचार भएको बताए। रिजालले स्याटेलाइट, टेलिकम, फाइबर लगायतका विषयमा भ्रष्टाचार भएको औंल्याउँदैप्रधानमन्त्रीले जन्मदिनमा तमासा देखाएको बताए ।

जन्मदिनमा प्रधानमन्त्रीले देखाएको तामझाम सत्ताउन्माद भएको बताउँदै रिजालले भने, ‘तपाईंको जन्मघरलाई लाग्यो होला यो आफ्‍नो खड्गप्रसाद होइन, कुनै राजा महाराजा हो। त्यो घरको आत्माले तपाईंलाई चिनेन होला, त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ ? भन्ने सोच्‍नुभयो ।’

संसदमा समाजवादी पार्टीका सरिता गिरी र राजपाका प्रमोद साहले पनि सरकारको आलोचना गरे । गिरीले सरकार कमिशनविना कामै नगर्ने भएको बताउँदै भ्रष्टाचारले सरकारलाई डुबाएको बताइन् । भ्रष्टाचारको पानी शिरभन्दा माथि गइसकेको छ भन्दै उनले यी विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताइन् ।

साहले एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न लागिएको तर आफूहरुले लामो समयदेखि संविधान संशोधनको कुरा उठाउँदा उपेक्षा गर्ने काम भएको भन्दै नेकपाले गठन गरेको संविधान संशोधन कार्यदलमाथि प्रश्न उठाएका थिए ।

उनले सरकार भ्रष्टाचारमा डुबेको भन्दै प्रधानमन्त्रीको विश्वासपात्र गोकुल बाँस्कोटाले मागेको कमिशनबारे पान पसल, चिया पसल, चोक चौराहामा कुरा भइरहेको बताए । साहले भने, ‘तपाईंको विश्वास पात्रले यति ठूलो भ्रष्टाचारको काम गरेको छ । बाँस्कोटाको प्रकरणले प्रधानमन्त्री पनि शंकाको घेरामा पर्नुभएको छ ।’

Advertisement

Advertisement

Advertisement