देउवाको प्रश्न– अडियोमा ‘हामी’ भनेको को को हो ? ट्रष्टको भ्रष्टाचारमा आफू संलग्न नरहेको दावी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सुचना तथा सञ्चार प्रविधिमन्त्रीको अडियो प्रकरणमा ‘हामी’ भनेको को हो हो ? भन्दै प्रश्न उठाएका छन् । आइतबार संसदमा बोल्दै देउवाले ‘हामी’ भनिएको कस्लाई हो ? प्रधानमन्त्री केपी ओलीले प्रष्ट पार्नुपर्ने बताए । उनले भने, ‘अडियो प्रष्ट सुनिन्छ। ‘हामी’ भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बाँस्कोटाले ७० करोड रुपियाँभन्दा बढि कमिशन मागेको अडियो सार्वजनिक भएसँगै उनले गत साता राजीनामा दिएका थिए । देउवाले अडियो प्रकरणमा बाँस्कोटाले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताउँदै यसको पछाडि गम्भीर नियत लुकेको आरोप लगाए ।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन ? भन्दै देउवाले प्रश्न समेत गरे। उनले भने, ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् ?’

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र सार्वजनिक गरेको आरोप लगाउँदै नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको बताए । श्वेतपत्रमा देउवालाई समेत दोषी देखाइएको छ ।

गोकर्ण रिसोर्ट, टेलिकममा पनि अर्बो रुपियाँको भ्रष्टाचार बाहिर आएको भन्दै भन्दै उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै देउवाले पेट्रोलियम पदार्थमा थपिएको करले जनतालाई भार बढेको बताए ।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।

Advertisement

Advertisement

Advertisement