भारतीय भूमि 'लिज'मा लिएर बंगलादेशसम्म 'डेडिकेटिड करिडोर', सडक, रेल र प्रशारण लाइन

Advertisement

काठमाडौं । भारतले नेपालको कोशी र गण्डक नहरमा २० औं किलोमिटर जमिन लिजमा लिएको छ । त्यहि लिजमा लिएको जमिनमा नहर बनाएर आफ्नो भूमिमा सिँचाई गर्न पानी लगिरहेको छ ।

अब भने नेपालले पनि भारतीय भूमि लिजमा लिएर आफ्नो हितमा उपयोग गर्नेबारे योजना बनाउन थालेको छ । बंगलादेशका लागि नेपाली राजदुत डा. बंशीधर मिश्रले भारतीय जमिन लिजमा लिएर बंगलादेशसम्म डेडिकेटिड पूर्वाधार बनाउनुपर्ने बताए ।

राजधानीमा आयोजीत नेपाल–बंगलादेश कनेक्टीभीटी सम्बन्धी कार्यक्रममा उनले ३७ किलोमिटर दुरीको बंगलादेशलाई अब नेपालले छिमेकी बनाउनुपर्ने धारणा राखे । ‘अब बंगलादेशलाई छिमेकी बनाउने तर्फ लाग्नुपर्छ । हामीले दुई देशलाई जोड्न भारतीय भूमि उपयोग गरि डेडिकेटेड करिडोर निर्माणबारे छलफल गर्नुपर्छ । अहिले पावरको कुरा आएको छ, त्यति मात्रै होइन डेडिकेटिड करिडोर नै बनाउनुपर्छ ।’, राजदुत मिश्रले भने ।

भारतले नेपाली जमिन लिजमा लिएर गण्डक, कोशी लगायतका थुप्रै नहर तथा अन्य संरचना निर्माण गरेकाले नेपालले पनि भारतीय भूमि त्यसरी नै लिजमा लिएर बंगलादेशसँग कनेक्टीभीटी विस्तार गर्नुपर्नेमा जोड दिए ।

‘भारतलाई गण्डक नहर बनाउन बिसौं किलोमिटर जमिन दिएका छौं । कोशीबाट पाँच मिटर भन्दा चौडाईको २० औं किलोमिटर लामो जमिन पनि त्यसरी नै भारतलाई दिएका छौं । त्यहाँबाट नदि जत्रो पानी लगेर भारतले आफ्नो भूमि सिँचाई गरेको छ । ठिक त्यसै गरि हामीलाई पनि ५ सय मिटर चौडाईको ३७ किलोमिटर जमिन भारतले किन दिन सक्दैन् ?’, राजदुत डा. मिश्रले भने ।

नेपालले काकडभिट्टा नाकाबाट बंगलादेशसम्मको ३७ किलोमिटर दुरीमा भारतसँग जमिन लिजमा लिएर विद्युत, सडक, रेलमार्ग लगायतका पूर्वाधार डेडिकेटिड करिडोरको अवधारणामा निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement