ओली, प्रचण्ड र देउवा नै राजनीतिक भेटघाट बन्द गरेर ‘सेल्फ आइसोलेसन’मा

Advertisement

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका हुन् । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गरेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाएका छन् । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्ने नभए भेटघाट पूरै बन्द गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

थापाले पहिला जस्तो दौडधूप गर्दैनन् । तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्छन । उनी आफैँ स्वास्थ्य उपचारपछि आराममा छन् । त्यसैले उनी स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो, झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भन्छनन् ।

प्रम ओली कोरोनाप्रति आफू सचेत छन् र अरूलाई सचेत रहन सल्लाह दिन्छन् । शनिबार उनले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थापाले जानकारी दिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । नेता तथा कार्यकर्तासँग कम भेटघाट गर्छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेका छन् ।

त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गर्छन् । नत्र उनी आफैँ कोरोनाप्रति सचेत भएर बसेका छन् । सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गर्छन् । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउँछन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीन दिनदेखि उनी घरमै छन् । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्छन । नत्र भेटघाट बन्द नै गरेका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उनी सचेत छन् ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement