५० हजार क्षमताको क्वारेन्टाइन बनाउन जुट्यो सरकार, कहाँ कति  ?

Advertisement

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण, रोकथाम र नियन्त्रणका लागि देशभर गरी ५० हजार भन्दा बढी व्यक्ति राख्न सकिने क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन गर्ने भएको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलका संयोजक पर्यटन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सात प्रदेशले कम्तिमा २ हजार क्षमताका, ६ महानगरपालिकाले कम्तिमा १ हजार क्षमताका, ११ उपमहानगरपालिकाले कम्तिमा १ हजार क्षमताका, काठमाडौँ उपत्यकामा ५ हजार व्यक्ति क्षमताका, प्याब्शन/एनप्याब्शन/हिसानले कम्तिमा २ हजार क्षमताका क्वारेन्टाइन स्थल निर्माण गर्ने भएका हुन् ।

साथै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँ पालिकाले कम्तिमा ५ सय व्यक्ति क्षमताका(हिमाली क्षेत्रमा), १ हजार क्षमताका(पहाडी क्षेत्रमा) र २ हजार व्यक्ति क्षमताका क्यारेन्टाइन स्थल(तराई क्षेत्रमा) निमार्णका लागि प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिने निर्णय गरिएको हो ।

साथै, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी २ हजार व्यक्ति क्षमताका होटलसहितको स्थान सहितको विवरण भोलिसम्म पेश गर्न, काठमाडौँको इचङ्कुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पताल परिसर, राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौँ, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रंगशालामा क्वारेन्टाइन ब्यवस्थापन गर्न सक्ने गरी विवरण पेश गर्न बैठकले निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement