काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले गरे पद बहाली

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज बहाली गरेका छन् ।

नेपाल सरकार, मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो । यस अघि उनी नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत थिए ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् । २०७२ सालको महाभूकम्पका समयमा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने– ‘चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता मेरा प्रमुख बाटा हुन् । जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिकोमाध्यमबाट व्यवस्थित गराउन चाहन्छु यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु ।’

उनले थप भने–‘२०७२ सालको भूकम्पबाट सृजना भएको बिपत्तिलाई मैले काठमाडौंमा बसेर व्यवस्थापन गरेको छु । अहिलेको बिपत्तिको प्रकृति फरक छ । तर, समन्वय र कार्यकुशलताले यसलाई सजिलै व्यवस्थापन गर्नुपर्छ । म यहाँका १८ सय बढी कर्मचारीको नेतृत्व गर्न सक्छु । तपाईहरुले जनप्रतिनिधि र जनताले अपेक्षा गरेको परिणाम ल्याउन सहयोग गर्नोस् । जनतालाई आपत परेको बेला हामी सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । काठमाडौंले अरुलाई सिकाउनु पर्छ ।’ यसका लागि सबै मिलेर कुशल नेतृत्व क्षमता बढाऔं, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ थियो ।

त्यस क्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीले काठमाडौं महानगरमा दक्ष कर्मचारी भएकोले नेतृत्वलाई लक्ष्य हासिल गर्न सहज वातावरण भएको उल्लेख गरे । परेको बेला खट्न सक्ने र लक्ष्य पहिल्याउन सक्ने कर्मचारी महानगरको क्षमता हो, सहसचिव ज्ञवालीले बताए ।

Advertisement

Advertisement

Advertisement