बैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, एकैपटक १२ दिन थपियो

Advertisement

काठमाडौँ । सरकारले लकडाउन एकैपटक १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । यसअघि ७–८ दिनका दरले २ पटक बढाएको लकडाउनको अवधि भोलिसम्म जारी रहेकै बेला सरकारले पुनः समयावधि बढाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न/बचाउनका लागि सरकारले चैत ११ बाट लकडाउन आदेश जारी गरेको थियो ।

आज दिउँसो सम्पन्न मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा संक्रमण पुष्टि भएपछि सरकारले एकैपटक १२ दिन लकडाउनको समय बढाएको बुझिएको छ ।

यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएपनि कुनै निर्णय भने गरेन । यसअघि नै अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय भइसकेको छ ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउँदै बैशाख २१ गतेसम्म बढाउने निर्णय गरेकै दिन नेपालमा पनि बैशाख १५ गतेसम्म समय बढाउने निर्णय भएको हो ।

Advertisement

Advertisement