'बुरुक्क बुरुक्क उफ्रिएर सीमा समस्या समाधान हुन्छ ?'

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सडकमा बुरुक्क बुरुक्क उफ्रिएर सीमा समस्या समाधान नहुने बताएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकमा उनले विरोधको नाममा विरोध मात्रै गरेर सीमा समस्या समाधान हुन नसक्ने भन्दै मन्त्रीहरुलाई पनि संयमित भएर बोल्न सल्लाह दिए ।

भूमिसुधार मन्त्री पद्या अर्थालले जथाभावी बोलेको भन्दै उनको झाँको झारे । उनले कालापानी क्षेत्र नेपालको नक्सामा कहिल्यै पनि नरहेको भन्दै मिडियामा बोलेका थिइन् । नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोबार जाने सडक बनाएसँगै त्यसको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा निकै कडारुपमा प्रस्तुत भएका थिए ।

उनको भनाई उदृत गर्दै एक मन्त्रीले ‘बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सीमा समस्याको समाधान निस्किन्न् संयमतापूर्वक कुटनीतिक समाधान खोज्नुपर्छ’ भने । मन्त्रीहरुले बोल्दा तथ्य र प्रमाणका कुरा मात्र बोल्नुपर्छ, हचुवाको भरमा यस्ता कुरा बोल्न हुन्न भन्दै कसैलाई पनि यस विषयमा हतारिएर अभिव्यक्ति नदिन निर्देशन दिएका थिए ।

बैठकमा उनले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेको बारे आफूलाई पूर्व जानकारी नभएको बताएका थिए । उद्घाटन भएपछि मात्र बाटो खनिएको बारे आफूले थाहा पाएको भन्दै उनले भारतले सडक खन्दैछ भन्ने बेलैमा कसैले रिपोर्टिङ गरेको भए त्यसलाई रोक्न सकिने थियो भने ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आइतबार प्रतिनिधिसभा बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेका बारे सरकारलाई पहिल्यैदेखि जानकारी रहेको दाबी गरेका थिए ।

Advertisement

Advertisement

Advertisement