लकडाउनमा सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासंघको आग्रह

Advertisement

काठमाडौँ । बन्दाबन्दीको अवधिमा कोरोनासँग असम्बन्धित सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासङ्घले आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रिया यथावत रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरोकार भएका निकायसमक्ष पटक-पटक ताकेता गर्दा समेत अति आवश्यक र कोेभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रिया सङ्घीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासङ्घका महासचिव रोशन दाहालले बताए ।

बन्दाबन्दीका कारण निर्माण व्यवसायी एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको महासङ्घले जनाएको छ । यसअघि जारी भएका पास रद्द भइ केही स्थानीय तहले आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ । बैंक ग्यारेण्टीलगायत कागजात तयार गर्नसमेत व्यवसायीलाई समस्या रहेको छ । महासङ्घले पूर्ण क्षमतासहित बैंक सञ्चालन नभएकाले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट बञ्चित हुने र स्वच्छ प्रतिष्पर्धासमेत नहुने ठहर गरेको छ ।

अतिआवश्यक सेवा र कोभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रियामध्ये आह्वान भइसकेका बोलपत्र बन्दाबन्दी खुलेको सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासङ्घले आग्रह गरेको छ । यसपछि आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्रलगायत खरिद प्रक्रिया हाललाई स्थगन गर्न पनि महासङ्घले तीनै तहका सरकारअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement