भरतपुर महानगरले ल्यायो ४ अर्ब १५ करोडको बजेट, साना उद्यम गर्न चाहनेलाई ४ करोड बिनियोजन

Advertisement

चितवन । भरतपुर महानगरपालिकाले ४ अर्ब १५ करोडको बजेट ल्याएको छ । आज आयोजित छैठौँ नगरसभामा उपप्रमुख पार्वती शाह ठकुरीले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख ठकुरीले आम्दानी तर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट रु १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व वाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बिबरण उल्लेख गरिन् ।

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट रु २५ करोड, बैंक मौज्दात रु ८२ करोड, मर्मत सम्भार कोषबाट रु २ करोड र सडकबोड नेपालबाटरु १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

बजेटमा विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शुन्य व्याज दरमा अनुदान उपलब्ध गराउने, युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न सुरुवाती पुँजी प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि रु. ४ करोड विनियोजन गरिएको छ ।

यसैबीच मेयर रेणु दाहालले नीति तथा कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड– १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित रहेको बताइन् ।

महानगरवासीहरुको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बानाउन बजेट केन्द्रित भएको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement