शेयर बजारमा आज पनि ६ प्रतिशतको 'पोजेटिभ सर्किट', डेढ घण्टामै बजार बन्द

Advertisement

काठमाडौँ । शेयर बजारमा आजपनि ६ प्रतिशतले पोजेटिभ सर्किट लागेपछि कारोबार सुरु भएको डेढ घण्टामै बन्द भएको छ ।

आज डेढ घण्टा खुलेको बजारमा तीन पटकसम्म सर्किट ब्रेक लाग्यो । कारोबार खुलेको १३ मिनेटमै नेप्से परिसूचकमा पहिलो पटक सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार रोकिएको थियो ।

त्यसपछि पुनः दुई मिनेट नबित्दै अर्को पटक सकारात्मक सर्किट ब्रेक लागेर पुनः ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो ।

तेश्रो पटक पुनः १२ बजेर २४ मिनेटमा सर्किट ब्रेक लागेर नेप्सेले आजको लागि कारोबार बन्द गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज परिसूचक ७५.७७ अंकले बढेर १३३६.५२ बिन्दुमा रोकिएको छ । आज १३५ कम्पनीको ११ लाख १ हजार २ कित्ता शेयर किनबेच हुँदा ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ । होटल ५.१५ अङ्कले घट्दा बैंङ्किङ ८२.३, व्यापार ३३.४८, विकास बैंक ५७.०६, जलविद्युत् ३३.६७, वित्त ४.७५, निर्जीवन बीमा ३२२.४१, उत्पादन १०२.५७, अन्य २०.९४, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा ५४८.५३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेका छन् ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए ।

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९.९८, नागरिक लगानी कोष ९.९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९.९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९.९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए ।

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.९२, ओरियन्टल होलट ३.२७, नेपाल दूरसञ्चार कम्पनी २.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १.७९, आइसिएफसी फाइनान्स १.२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.१८ प्रतिशतले गुमाए ।

लामो सयमपछि गत सोमबारदेखि शुरु भएको शेयर बजार पहिलो दिन घटेको थियो भने हिजो पनि ६ अंकको पोजेटिभ सर्किट लागेपछि समय अगावै बन्द गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement