कोरिया जान नपाएका युवा सडकमा, ‘कि रोजगारी देउ, कि कोरिया जान देउ’

काठमाडौं । रोजगारीका लागि भाषा परीक्षा पास गरेर सबै प्रक्रियासमेत पूरासमेत गरेर पनि कोरिया जान नपाएका युवाहरु बुधबार सडकमा ओर्लिएका छन् । उनीहरुले आफूहरु कोरिया जान पाउनुपर्ने भन्दै उडान सुरु गर्न माग गरेका छन् । युवाहरुले भाषा परीक्षा पास गरेर उडानको पर्खाइमा रहेको बेला कोरोना (कोभिड १९) महामारी सुरु भएको र सोही कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा आफूहरु कोरिया जानबाट बन्चित भएको भन्दै मुलुकमा रोजगारीका अवसर नभएर कोरिया जान खोजेका आफूहरुलाई सरकारले बाटो खोलिदिनुपर्ने बताएका थिए ।माइतीघर मण्डलामा प्रदर्शन गरेका उनीहरुले ‘कि रोजगारी देउ, नभए कोरिया जान देउ’, ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, ‘गरि खान दे सरकार, उडान खोली जान दे’, ‘हामी कामको लागि कोरिया जान चाहन्छौं’ लगायतका नारा लगाएका थिए ।