चार अर्बभन्दा बढी राजस्व असुली, अघिल्लो वर्षभन्दा १० प्रतिशत बृद्धि

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६/०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । 

यो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७५/०७६ चार अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख अधिकृत सन्तबहादुर ढकालले बताए ।  

कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये अन्तः शुल्कतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब दुई करोड ९५ लाख ६६ हजार र आयकरतर्फ रु ८९ करोड ६० लाख ६८ हजार रहेको छ । 

त्यसैगरी सो कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्यअनुसार घरबहाल कर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियमावलीअनुसार स्थानीय निकायले नै आफ्नो नगरको घर बहाल कर असुली गर्ने गरेकाले यस वर्षदेखि सरकारको राजश्व ढुकुटीमा सङ्कलन नभएको सो कार्यालयको सूचना अधिकृत हरेराम ढकालले जानकारी दिए ।