बाणिज्य विभागका महानिर्देशकको बदमासीमाथि संसदीय समितिको कैँची

Advertisement

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी विवादमा तानिएका छन् । विभागले नेपालमा गैर कानुनी मानिने नेटवर्किङ व्यवसाय सञ्चालन गर्न पाउने गरि आधा दर्जन कम्पनीलाई लाइसेन्स दिएपछि महानिर्देशक सुवेदी विवादमा मुछिएका हुन् । 

सुवेदी नेतृत्वको विभागले असार १६ गतेपछि नेटवर्किङ व्यवसाय(प्रत्यक्ष बिक्री व्यवसाय)  गर्न पाउने गरि आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रालि, नेचर हर्ब्स इन्टरनेशनल प्रालि, न्यू विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर माट्र्स इन्टरनेशनल प्रालि, युटर्न इन्टरनेशनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिलाई लाइसेन्स दिएको थियो । 
यस अघि नै नेटवर्किङ व्यवसाय गर्ने कम्पनीले उपभोक्ता ठगेपछि प्रतिबन्ध लगाएर त्यस्तो व्यवसायलाई गैर कानुनी घोषणा गरिएको थियो ।

वस्तुको प्रत्यक्ष बिक्री ऐन तथा नियमावली २०७६ ले पिरामिड शैलीको नेटवर्किङ व्यवसायामा प्रतिबन्ध लगाएको छ । ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । तर विभागले भने ऐन तथा नियमावलीको आफुखुसी व्याख्या गरेर घुमाउरोबाटोबाट नेटवर्किङ व्यवसायलाई अनुमति दिएको आरोप सांसदहरुले लगाएका छन् । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायलाई प्रोत्साहन दिने गरि अनुमति दिईएका कम्पनीहरु र त्यसको प्रक्रियाबारे अध्ययन गर्न उप समिति नै गठन गरिसकेको छ । 

पूर्व उद्योगमन्त्री समेत रहिसकेका सांसद सोम प्रसाद पाण्डे नेतृत्वको उप समितिमा प्रकाश रसाइली, अमृता अग्रहरी, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य छन् ।
साउन १५ गते गठित उपसमितिलाई अध्ययनका लागि १५ दिनको समय सिमा तोकिएको छ । उप समिति सदस्य प्रकाश रसाइलीले आधा दर्जन कम्पनीलाई नेटवर्किङ व्यवसाय सञ्चालन गर्न मिल्ने गरि अनुमति दिँदा ठूलै गडबढी भएको बताए । ‘लाइसेन्स दिने बेलामा गडबडी भएको देखिन्छ, हामी अध्ययन गरेर त्यसलाई ठिक पार्छाै, कानुनको गलत व्याख्या गरेर नागरिकहरुलाई ठग्ने अनुमति दिनेहरुलाई छोड्न हुन्न’, रसाईलीले भने । समितिले लाइसेन्स दिने काम तत्कालका लागि रोकेर सो सम्बन्धी फाइल अध्ययनका लागि पठाउन निर्देशन समेत दिईसकेको छ । 

महानिर्देशकमाथी आरोप
महानिर्देशक सुवेदीले आफुलाई शक्ति केन्द्रको साथ रहेको बताउँदै जथाभावी लाइसेन्स बाढेको आरोप लागेको छ । विभागमा महानिर्देशक भएर आउनु अघि भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी रहेका सुवेदीले आफुलाई प्रचण्डको निकट भएको बताउने गरेको श्रोत बताउँछ । उनले प्रचण्डको शक्तिलाई देखाएर विभागमा मनोमानी गर्न थालेको आरोप लागेको हो । 
 

Advertisement

Advertisement

Advertisement