काठमाडौं । नेपालमा केही महिनायता पाई नामक एक क्रिप्टो चर्चामा छ। बिटक्वइन वा इथेरेमजस्तै बहुमूल्य क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) बन्ने भन्दै यसको माइनिङ (पैसा उत्पादन) व्यापक रूपमा भइरहेको छ। सेयर बजारका लगानीकर्ता र सहरी क्षेत्रका विद्यार्थीमा पाई लोकप्रिय हुँदै गएको बताइन्छ।
धेरैले फेसबुक र ट्विटरलगायत सञ्जालमा यसको विज्ञापन गरिरहेका छन्। ह्वाट्सएप र भाइबरजस्ता माध्यममा पनि यसको फैलावट तीव्र भएको यसका प्रयोगकर्ता बताउँछन्।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा सन् २०१९ मार्च १४ मा तीन विद्यार्थीले यो क्रिप्टो तयार पारेको भनिएको छ। यो मोबाइलमै माइनिङ गर्न सकिने संसारको पहिलो क्रिप्टो हो। त्यसकारण यसलाई निर्माताले ‘सर्वाधिक समावेशी’ भनेका छन्। यसअघि शक्तिशाली कम्प्युटरमार्फत उच्च गतिको इन्टरनेट पहुँचमा मात्रै यस्ता अभौतिक मुद्राको माइनिङ गर्न सकिन्थ्यो।
पाईले एक व्यक्तिले एउटा डिभाइसमा मात्रै माइनिङ गर्न पाउने र उसले विश्वासिला साथीलाई आफ्नो नामबाट पाई खोल्न लगाउनुपर्ने प्रावधान राखेको छ। यो नेटवर्किङ व्यवसायजस्तै हो। आफूले जति धेरै व्यक्तिलाई पाई सञ्चालन गर्न लगायो त्यति धेरै अंक बढ्ने विधि यसमा अपनाइएको छ।
नेपालमा नेटवर्किङ व्यवसाय मात्र होइन, अभौतिक मुद्राको कारोबार तथा माइनिङ र ब्लकचेन सञ्चालन गर्न रोक लगाइएको छ। त्यति मात्र होइन, कमोडिटी र डेसिरभेटिभ्स बजार तथा सबै किसिमका गम्ब्लिङमा पनि प्रतिबन्ध छ। तर, सट्टेबाजी अवैध रूपमै भइरहेको संलग्नहरू बताउँछन्।
अन्नपूर्ण पोष्ट दैनिकबाट ।